न्यायिक समितिको ऐतिहासिक पहिलो राष्ट्रिय सम्मेलन (भिडियो रिपोर्ट)

 

काठमाडौं, १६ चैत । कठ्याङ्ग्रिने शिशिरलाई पन्छाउँदै चैतको दोस्रो हप्ताको काठमाडौंको मौसमले बसन्तको आगमनलाई स्वागत गरिरहेको थियो । त्यहि मौसमसँगै चैत १५ को प्रज्ञाभवनको मौसम भने अरुबेला भन्दा केही रापिलो बनेको अनुभूति हुन्थ्यो ।

प्रज्ञा डवलीमा विहानको सूर्यको प्रकाशसँगै चहलपहल पनि निकै बढेको थियो । प्रज्ञाका बगैँचाहरुमा मौसम परिवर्तनसँगै पालुवाहरु पनि विस्तारै फेरिदैँ थिए । हो त्यहि पहारीलो र वसन्तमय मौसममा ७ सय ५३ वटै पालिकाका उपप्रमुख–उपाध्यक्षहरुको भीड थामिनसक्नुको थियो ।

काठमाडौं महानगरपालिका आयोजना र उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा गरिएको न्यायिक समितिको ऐतिहासिक पहिलो राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुलुकभरीबाटै सहभागी उपप्रमुख–उपाध्यक्षहरुको मुहारमा पनि विचित्र खालको मुस्कान भरिएको थियो ।

जप्रतिनिधि भएपछि आ–आफ्नै पालिकामा जनताका गुनासो सुन्दै र आफ्नै बलबुताले भ्यायसम्म समाधान गर्दै आएका उनीहरुमा केही नयाँ सिक्ने अवसर सम्मेलनले गर्ने अपेक्षासहितका आशाहरु भ्रिएका उनीहरुको मुहारमा भर्खरै विश्वविद्यालय अध्ययनका लागि प्रवेश गरेको नयाँ विद्यार्थीको जस्तो हाउभाउ देखिन्थ्यो ।

प्रज्ञाको भव्यहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उद्घाटन गर्दा अधिकांश उपप्रमुख–उपाध्यक्षहरुको ध्यान डिजिटल फ्लेक्समा सांकेतिक भाषामा त्यहाँका गतिविधिबारे जानकारी गराएको लगायतका दृष्यमा केन्द्रित भएको देखिन्थ्यो । डिजिटल प्रविधिको प्रयोग गर्दै उद्घाटन गरेका सो सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड पनि निकै उत्साहित देखिनु भएको थियो ।