अदृश्य शक्तिकेन्द्रको घेराबन्दीमा परेर प्रचण्डले एमाले समीकरण टिकाउने आँट गर्नुभएनः महासचिव पोखरेल
काठमाडौं, १७ चैत । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले अदृश्य शक्तिकेन्द्रको घेराबन्दीका कारण प्रचण्डले समिकरण टिकाउन आँट नगरेको आरोप लगाउनु भएको छ । मैत्रिन्युज डटकमसँग भिडियो अन्तर्वार्तामा उहाँले यस्तो आरोप लगाउनु भएको हो ।
‘चुनावको जनादेश एमाले एक्लैले सरकारको नेतृत्व गर्नका लागि प्राप्त भएन,’ पोखरेलले भन्नुभयो । त्यहिकारण एमालेले त्यसैबेला मुलुकको नेतृत्वका लागि असफल भएको गठबन्धनबाट बाहिर आएको अवस्थामा उनीहरुलाई सहयोग गर्न तयार छौँ अन्यथा प्रतिपक्षमा नै बसेर अघि बढ्ने भनी निर्णय गरेको पनि स्मरण उहाँले गराउनुभयो । ‘त्यतिबेला प्रचण्ड प्रधानमन्त्री बन्नका लागि गठबन्धनबाट बाहिर आएर एमालेसँग सहयोग माग्न आउनुभयो । हामीले उहाँलाई सहयोग पनि गर्यौ,’ उहाँले भन्नुभयो, ‘तर, यो समिकरण टिकाउने आँट प्रचण्डले गर्नुभएन । एक ढंगले भन्ने हो भने उहाँ अदृष्य शक्तिकेन्द्रको घेराबन्दीमा पर्नुभयो । त्यहिकारण मुलुक अहिले संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ ।’
पोखरेलले गएको निर्वाचन राष्ट्रिय राजनीतिको आवश्यकताका दृष्टिकोणले सफल हुन नसकेको पनि स्मरण गराउनुभयो । ‘जतिबेला मुलुकमा राजनीतिक परिवर्तनको आवश्यकता रहन्थ्यो । त्यतिबेला धेरै राजनीतिक दलहरु भएर केही फरक पर्दैन । किनकी सबैको प्रहारको निशाना राज्यसत्ता हुने गर्दछ,’ उहाँले भन्नुभयो, ‘तर जतिबेला विकास र संवृद्धिको कुरा प्रमुख बनेर आउँछ । त्यतिबेला नीतिगत नेतृत्वको आवश्यकता पर्दछ । दलहरु मिलेर विकास र सम्वृद्धिको नेतृत्व गर्दछन् भन्ने कुरा दुँनियामा कतै पनि देखिएको छैन । त्यहाँ नीतिगत नेतृत्वको आवश्यकता पर्दछ ।’
उहाँले सामान्यतयाः सम्वृद्धिका लागि दुनियाँको अनुभवलाई हर्ने हो भने तीन वटा कुरा आवश्यक हुने बताउनुभयो । ‘पहिलो दूरदर्शी नेतृत्व, दोस्रो बलिायो राजनीतिक शक्ति र तेस्रो राजनीतिक स्थायीत्व । यी तीन वटा चिज भयो भने मात्रै मुलुक बन्न सक्छ,’ उहाँले भन्नुभयो, ‘गएको निर्वाचन यो मामिलामा अत्यन्त कमजोर रहयो । परिणाम पनि कमजोर रहयो । बलियो राजनीतिक शक्ति निर्माण गर्ने बेलामा धेरै राजनीतिक दलहरु निर्माण भए । संसदको समीकरण राजनीतिक अस्थिरतालाई प्रोत्साहन गर्ने खालको भयो ।’