ऐतिहासिक छुस्याबहालस्थित सिंहको प्रस्तर मूर्ति क्षति

काठमाडौं, १७ चैत । काठमाडौं महानगरपालिका वडा नं. २७ स्थित ज्याठा टोलमा रहेको छुस्या बहाल (गुणाकर महाविहार) बाहिर राखिएको सिंहको प्रस्तर मूर्ति क्षतिग्रस्त अवस्थामा भेटिएको छ । हिजो राति गाडीको ठक्करले उक्त मूर्ति क्षतिग्रस्त भएको बताइएको छ ।

बिहारको मूल ढोका बाहिर राखिएको सिंहको उक्त प्रस्तर मूर्ति तीन टुक्रा हुने गरी क्षति बनाइएको छ । मूर्ति क्षति गर्ने सवारी साधन भने पत्ता लागेको छैन ।
आजै २७ वडा कार्यालयबाट उक्त क्षतिग्रस्त मूर्तिको निरीक्षण गरी मर्मतको लागि शुरु गरेको छ ।

कामपा २७ वडास्थित छुस्याबहाल काठमाडौंमा अहिलेसम्म बहालकै रुपमा अस्तित्वमा रहेको एक मात्र बहाल हो । काठमाडौंका अन्य बहालहरू नयाँ नयाँ भवन निर्माणका कारण विकृत भइसकेका छन् ।

लुम्बिनीमा निर्माण गरिएको नेपाली शैलीको आकर्षक बौद्ध बहाल पनि यही छुस्याबहालको स्वरुप आउने गरी बनाइएको बताइन्छ ।