कञ्चनपुरमा भारी वर्षाको जोखिम : नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, भदौ २१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरका विभिन्न स्थानीय तहमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले विशेषगरी दोधारा चाँदनी, भीमदत्त र बेदकोट नगरपालिकामा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै स्थानीय बासिन्दा तथा सरोकारवाला निकायलाई पूर्वतयारीमा रहन सूचित गरेको हो ।

मौसम पूर्वानुमान बुलेटिनका अनुसार उक्त क्षेत्रका साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र बाढीको जोखिम रहने देखिएको छ। जोखिम न्यूनीकरणका लागि महाशाखाले नदीको निगरानी बढाउन, स्थानीय समुदायलाई समयमै जानकारी गराउन र आवश्यक उद्धार सामग्रीहरू तयारी अवस्थामा राख्न स्थानीय तहहरूलाई आग्रह गरेको छ ।

विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहहरूले पूर्वतयारी तीव्र पारेका छन्। बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दका अनुसार नगर प्रहरी र वडाध्यक्षहरूलाई उच्च तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । त्यसैगरी, दोधारा चाँदनी नगरपालिकाले पनि विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखेको विपद् सम्पर्क व्यक्ति अमृत विकले जानकारी दिनुभयो ।

कञ्चनपुरमा आज बिहानैदेखि भइरहेको अविरल वर्षाका कारण महाकाली नदीको जलसतहले सतर्कताको तह पार गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आज साँझ ५ बजेको मापनमा महाकाली नदीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ ।

नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेसँगै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भारतीय पक्षले नेपाल भारत जोड्ने वनबासास्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको छ। महाकाली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।