आठ वर्षमा निर्माण भयाे रामपुर अस्पताल
पाल्पा, २७ चैत्र । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएकाे हाे ।
नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन् । यस अस्पताल २०७२ सालमा पचास शय्यामा स्तरोन्नति भएपनि पन्ध्र शय्याकै पुरानो भवनबाट खुम्चिएर सेवा दिइएकोमा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा धेरै सहज हुने स्थानीयवासी तथा अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष फणेश्वर गौतमले बताए ।
एक हजार सात सय वर्गमिटरमा फैलिएर तयार भएको अस्पतालको भवनसहितको संरचना भ्याटबाहेक रविना कन्ट्रक्सन प्रालि काठमाडौँले २०७२ कात्तिक १७ गते सम्झौता गरी रु २० करोड दुई लाखको लागतमा भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७२/७३ को पुसदेखि निर्माण कार्य सुरु गरिएको सो भवन कोभिड–१९ को असरले गर्दा धेरै समय लम्बिन पुग्यो ।
अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले पचास शय्यामा स्तरवृद्धि भए पनि भवन निर्माण नहुँदा प्राथमिक सेवा केन्द्रको संरचनामा सेवा प्रदान गर्दै आएकोमा नयाँ भवनबाट बहुविशेषज्ञ सेवा दिने लक्ष्यसहित अघि बढेको बताउँदै हिजोको दिनमा भन्दा फरक ढङ्गले सेवा प्रवाह गर्ने जानकारी दिए ।
पाल्पाको पूर्वी भेग, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्र भागमा रहेको यस अस्पताल कालीगण्डकी करिडोर सडकसँगै जोडिएको छ । सडक सञ्जाल विस्तार र जनघनत्व बढ्दै जाँदा यस अस्पतालमा बिरामीको चाप उत्तिकै बढ्दो छ ।
हिजोका दिनमा सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि रामपुर अस्पतालमै जाने क्रम बाक्लिदो छ । यहाँ दैनिक तीन सय बढी बिरामीले सेवा लिइरहेका छन् ।
सडक सुविधाले गर्दा रामपुर चार जिल्लाको केन्द्रमा जोडिएसँगै अन्यत्र जाने नागरिक हिजोआज रामपुर अस्पतालमै उपचारमा आउने क्रम बढेकाले सेवाको दायरा फराकिलो बनाउँदै कर्मचारी व्यवस्थापन गरी विशेषज्ञ सेवा दिने तयारीमा रहेको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउँछन्।
उनले भने, पाल्पा सदरमुकाम तानसेन देखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसूति, एपेण्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रियामार्फत उपचार हुन थालेपछि स्थानीयलाई ठूलो राहत पुगेको छ ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पूर्वाधार निर्माण अब स्तरीय सेवा कसरी दिने भन्नेतर्फ केन्द्रित हुनुपर्ने बताउँदै यस अस्पताल रामपुरमा मात्रै नभई गण्डकी बेँसी क्षेत्रका नागरिकको लागि प्रत्यक्ष भूमिका खेल्ने अस्पताल रहेकाले नगरपालिकाबाट अस्पतालको व्यवस्थापन र सञ्चालनका लागि पूर्ण साथ र सहयोग रहने बताए ।
प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पताल लुम्बिनी प्रदेशको नजरमा रहेकाले अस्पताललाई ट्रमा सेन्टरको रुपमा अघि बढाउनुपर्ने, रामपुर अस्पताल पालिकास्तरमा निर्माण भएका अन्य अस्पतालको अभिभावकत्व ग्रहण गर्ने र विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा स्थापित हुनु आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बताए ।
नयाँ भवनको तल्लो तलामा हाल ओपिडी सेवा प्रवाह भइरहेको छ । विशेषज्ञ सेवाका लागि अहिले विभिन्न उपकरण जडान तथा व्यवस्थापनको काम अस्पतालमा भइरहेको छ । पचास शय्याको अस्पताल भएकाले यहाँ नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ ।