गृहमन्त्रालय अघिबाट उपमेयर सुनिता डंगोलको प्रतिक्रिया–एकले अर्को मान्छेसँग डराउनुपर्ने अवस्था आयो
काठमाडौं, १४ वैशाख । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अहिले मानिसहरू एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताउनु भएको छ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि बुधबार झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा केही उच्छृङ्खल समूहले दुर्व्यवहारको प्रयास गरेको र काठमाडौंको कपनमा निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन गृहमन्त्रालय पुग्नु भएकी उपमेयर डंगोलले सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाउँदै यस्तो बताउनु भएको हो ।
हत्या भएको आठ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको भन्दै उहाँले अनुसन्धानबाट छिटै निछोड आउने प्रतिवद्धता व्यक्त भएको भन्दै आशावादी रहेको बताउनुभयो । उहाँले घटना कसरी भएको हो ? भन्ने कौतुहलतासँगै एकअर्कासँग डराउनु पर्ने वातावारण पनि सिर्जना भएको बताउनुभयो । उहाँले शान्ति–सुरक्षा कायम गर्नका लागि काठमाडौं महानगरपालिकाले सुरक्षाकर्मीसँग नजिकैबाट सहकार्य गरिरहेको पनि बताउनुभयो ।
‘कपन घटनाका सन्र्दभमा परिवारका मान्छेसँग पनि कुराकानी भैरहेको छ । सीसी क्यामेरा भएको भए अपराधिक घटनालाई छिटो पत्ता लगाउन सजिलो हुन्थ्यो भन्ने आइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अपराधिक घटनालाई रोक्न काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीसँग मिलेर मुख्य सडकमा मात्रै होइन गल्लीहरुमा पनि क्यामेरा जडान गर्ने प्रक्रिया अघि बढाएका छौँ । त्यसले गर्दा म कुनै नराम्रो काम गर्दै छु भने निगरानीमा छु आभास पनि दिलाउँछ भन्ने हेतुले हामीले त्यसमा तत्परता देखाएका हौँ ।’
एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको नेतृत्वमा गएको टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानकर्षण गराएको थियो ।