नेपाल र चीन सम्बन्धबारे विष्णु रिजालको भिडियो ब्रिफिङ– ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ अघि बढाऔँ

काठमाडौं, २२ वैशाख । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेपाल र चीनबिच लामो समयदेखि अत्यन्त मित्रवत् सम्वन्ध रहेका मुलुकका रुपमा स्थापित रहेको बताउनु भएको छ । मन्त्रिन्युजको भिडियो ब्रिफिङमा उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल–चीन सम्बन्धनको आधारभूत कुरा भनेको एक–अर्का देशको सार्वभौमिकताको सम्मान गर्छौ,’ उहाँले भन्नुभयो, ‘अखण्डताको पूर्णरुपमा सम्मान गर्छौ र सम्वेदनशीलताको पूर्ण ख्याल गर्छौ ।’

उहाँले नेपालमा जुनसुकै पार्टीको सरकार भए पनि हाम्रा चीनसँग सम्वन्धित आधारभूत नीतिहरुमा फरक नरहने गरेको पनि स्मरण गराउनुभयो । ‘नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ । नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिन नेपाल प्रतिवद्ध छ,’ उहाँले भन्नुभयो, ‘चीनको आन्तरिक मामिलामा नेपालले कहिल्यै पनि टिप्पणी गर्दैन । नेपालमा जुनसुकै दलको सरकार भए पनि यी घोषित प्रतिवद्धतामा नेपाल एकमत रहँदै आएको छ ।’

उहाँले चीनको पनि नेपाल सम्बन्धनमा कुनै उतारचढाव नदेखिने गरेको बताउनुभयो । ‘नेपालमा जुन पार्टीको सरकार बनोस् वा जुन पार्टी सत्तामा होस् राज्यसँग गर्ने चीनको व्यवहारमा तलमाथि परेको देखिदैँन,’ रिजालले भन्नुभयो, ‘नेपालको आन्तरिक राजनीतिमा चीनले कहिल्ये टिकाटिप्पणी गर्ने गर्दैन । नेपाल र नेपालीको मन दुखाउने काम चीनले गर्दैन ।’

उहाँले यी कुरा नै नेपाल–चीन विचको आधारका रुपमा देखिएको बताउनुभयो । ‘चीनले विकास गरेको छ, प्रगति गरेको छ । चीनसँग ठूलो अर्थतन्त्र छ । चीनले विश्वव्यापिरुपमा लगानी गरिरहेको छ । छिमेकी हुनुको नाताले नेपालले त्यसको लाभ लिनसक्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘ तर, त्यो हामीले सक्यौँ कि सकेनौं ? जसलाई तिर्खा लाग्छ, उसले धारा खोज्दै जानुपर्छ ।’

उहाँले सन् २०१७ मा ठूलो आशा र अपेक्षाका साथ केपी ओली नेतृत्वको सरकारले चीनको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ मा हस्ताक्षर गरेको भन्दै आज ६ वर्ष वितिसक्दा पनि त्यो मध्ये कुनै पनि परियोजना कार्यान्वयन नभएको भन्नै चिन्ता व्यक्त गर्नुभयो । ‘हामीले ९ वटा परियोजना संभाव्य कार्यान्वयनका लागि छनोट गरेर प्रस्ताव पेश पनि गरेका थियौँ । नेकपा (एमाले)को अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला अघि बढाएका आयोजना भएकै कारण गर्नुहुँदैन भनेर वर्तमान सरकारले संर्कीण मानसिकता राख्नु हुँदैन,’ उहाँले भन्नुभयो, ‘कोभिडका कारण लामो समयदेखि बन्द रहेका सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाका पनि अहिले खुलेको समाचारहरु सार्वजनिक भएका छन् । अब नेपाल–चीनबिचका आर्थिक गतिविधिमा तिव्रता ल्याउनुपर्छ ।’

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *