सिंहदरबारमा शीर्ष नेताको बैठक सकियाे, के के भयाे छलफल ?

काठमाडौं, २७ वैशाख । सिंहदरबारमा बसेको शीर्ष तीन दलका नेताहरूकाे बैठक सकिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको हो।

शीर्ष तीन नेताको बैठक भनिएपनि छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि थपिनुभएकाे छ ।

आजको भेटमा संसदीय समितिको नेतृत्व, सत्य निरूपण तथा मेलमिलाप विधेयकलगायत विषयमा छलफल भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयाे ।

बैठकबाट एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिनुभएपछि उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का प्रवेश गर्नुभएकाे छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेर हाइ प्रोफाइल नै मुछिरहेका बेला शीर्ष नेताहरूको दौडधुपलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजैमात्रै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएरपनि फरार भएपछि एमालेले आजै एक सूचना प्रकाशित गरी निलम्बन गरिसकेको छ ।