राष्ट्रपति पाैडेलले आज बस्ने सङ्घीय संसद्काे संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडाैं, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्काे आजकाे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्नुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा चयन भएपछि सङ्घीय संसदमा उहाँको यो पहिलो सम्बोधन हुन लागेको हो ।

सङ्घीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने सङ्घीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ ।

उक्त बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुनुहुने छ ।