गृहमन्त्रीलाई युवा संघको ज्ञापनपत्रः अनुसन्धानमा एमालेका नेताहरुलाई मात्रै फसाउन खोजेको हो ?

काठमाडौं, ११ जेठ । युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मानव तस्करीको समग्र पक्षमा नगई अपूरो, अधुरो अनुसन्धान गर्ने र निर्दोष फसाउने योजनाका साथ भएको काम–कारबाहीमा छानविनको माग गर्दै गृहमन्त्री नाराणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।

युवा संघले बुझाएको आठ बुँदे ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले अनुसन्धानलाई अझ राम्रो ढंगले अघि बढाउन भन्दै दिएको ज्ञापनपत्रले बल प्रदान गरेको अनुभूति भएको बताउनुभयो । ‘यसले उर्जा प्रदान गरेको छ । अनुसन्धानमा आएका कुरालाई आधार मानेर हामीले प्रक्रिया अघि बढाएका छौँ,’ श्रेष्ठले भन्नुभयो, ‘मैले सुरुदेखि नै नेपाल प्रहरीलाई स्वतन्त्र र निष्पक्ष ढंगले अघि बढाउन निर्देशन दिएको छु । आशंका वा मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने वा कसैको सार्वजनिक जीवन वा प्रतिष्ठामा आँच पुर्याउने काम म गर्दिन ।’

बयनासँग मेल खानेगरी अन्य तथ्य प्रमाणसँग पनि खोजी गरेर त्यससँग पनि जोडेर अनुसन्धान अघि बढाउन खोजेको उहाँले जानकारी दिनुभयो । ‘तपाईँहरुले भने जस्तै थुप्रै व्यक्तित्वहरुको पनि नाम आएको छ । तर, एउटाले बयान दिएकै आधारमा मुद्धा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणको पनि खोजी गर्ने र अरु अनुसन्धानको प्रक्रियामा प्रहरी छ भनेर हामीले बुझ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘एउटा कसैलाई मन लाग्यो भन्यो भनेर पक्राउ गर्ने कुरा पनि हुँदैन होला । प्रहरीले अनुसन्धानलाई खाली बयानको मात्रै आधार बनाएको छैन । तथ्य–प्रमाणको आधार पनि बनाएर अघि बढाउने प्रयत्न प्रहरीले गरिरहेको छ ।’

केहीलाई मुछ्न खोजियो कि वा केही आउनु पर्ने आएनन् कि भन्ने दुबै कुरा रहेको भन्दै उहाँले कसैलाई नमुछ्नु पर्ने व्यक्तिलाई पनि मुछियो भन्ने लागेको र कसैलाई भने कसैलाई ल्याउनु पर्ने मान्छे ल्याएन भन्ने पनि लागेको हुन सक्ने भन्दै दुबै कुरालाई हेरेर बयानको आधारमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न र त्यो अनुसन्धानले पुष्टि भएको आधारमा अघि बढाउने कुरामै प्रहरी रहेको बताउनुभयो । ‘कुन पार्टीको ? कुनचाँहि कस्को नाता पर्ने हो ? म अपराधसँग त्यसको साइनो–सम्बन्ध म मान्दिन,’ उहाँले भन्नुभयो, ‘अपराध कर्म वा राष्ट्रलाई हानी नोक्सानी गर्ने कर्म जोसुकैले गरे पनि त्यो निष्पक्ष ढंगले छानविन गरेर अनुसन्धानको दायरामा ल्याइन्छ । यो कुरामा विश्वास गराउन चाहन्छु । यति मात्रै होइन यो सकिएपछि राज्यको शुद्धिकरण भयो त ? त्यो त होइन होला त्यसकारणले संमृद्धिको पहिलो शर्त सुशासनलाई मानेर अघि बढ्न खोजेको आधारमा अरु पनि छानविन र अनुसन्धान होलान भन्ने कुरामा तपाईँहरुले आशा गर्नुहोला ।’

उहाँले अहिलेसम्म नेपाल सरकार र प्रधानमन्त्रीले अहिलेसम्म गृहमन्त्रालय र नेपाल प्रहरीले गरेको कामका लागि प्रोत्साहन र आडभरोसा दिएको पाएको बताउनुभयो । ‘नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलको नेताले पनि यो यो प्रकरणलाई निष्पक्ष ढंगले अघि बढाउनुहोस् । दोषीहरुले छुट्न नपाओस्, निर्दोषहरु फस्न नपाओस् मेरो पूरा साथ–सहयोग रहन्छ भनेर उहाँले आरम्भदेखि नै भन्दै आउनु भएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘नेपाली कांग्रेसका सभापतिले पनि ढुक्कसाथ काम गर्नुहोस् भन्नुभएको छ । स्वतन्त्र र निष्पक्ष ढंगले छानविन गरिन्छ । निर्दोष कोही पनि फस्ने छैन, दोषी कोही पनि छुट्ने छैन । यहि ढंगले काम अघि बढ्ने छ ।’

ज्ञापनपत्र बुझाउँदै युवा संघ नेपालका कार्यवाहक अध्यक्ष अमित लामाले निष्पक्ष छानविन हुनुपर्नेमा अरुतिर नै केन्द्रित भयो कि भन्ने आशंका उत्पन्न भैरहेको बताउनुभयो । ‘यो रोकिनुपर्छ भनेर हामीले ज्ञापनपत्र बुझाएका हौँ,’ लामाले भन्नुभयो, ‘दोषीलाई कारवाही गर्नुपर्छ निर्दोषलाई फसाउनु हुँदैन भनेर पनि हामीले यहाँ भेटेका हौँ ।’ आठ बुँदे ज्ञापनपत्र महासचिव सुमन पुरीले बाचन गर्नुभएको थियो । ‘राज्यशक्तिको चरम दुरुपयोग गरी देशकै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अन्तराष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा गुमाई संगठित रुपमा गरिएको कार्य ठगी भ्रष्ट्राचार मात्रै नभई मानव तस्करी जस्तो गम्भीर अपराध हो । यसमा कतिपय उच्च तहका मानिस समेत छानविनको दायरामा ल्याई अनुसन्धानको दायरामा ल्याएकोमा नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘अनुसन्धानको दौरानमा अभियुक्तहरुले बयानको क्रममा दिएको अडियो प्रहरीले संकलन गरेको प्रमाण र एसएमएसको समेत आधारमा नाम आएका कतिपय उच्च तहका नेता र उनका परिवारका सदस्यलाई अनुसन्धानको दायरामा ल्याएर सोधपुछ समेत नगरेर उल्टै उन्मुक्ति दिने कार्य गरेर अनुसन्धानकर्ताले अपराध नियन्त्रण भन्दा राजनीतिक प्रभावमा काम गरेको देखिन्छ । ’
अनुसन्धानको क्रममा घटनाको प्रारम्भ र प्रतिवेदन परिवर्तन गर्ने व्यक्तिहरुलाई भन्दा पनि राजनीतिक पूर्वाग्रह राखेर अनुसन्धानलाई तोडमोड गर्ने, गराउने काम भएको कुरा अभियोगपत्र अध्ययन गर्दा स्पष्ट भएको पनि उल्लेख गरिएको छ ।

‘योग्य रुपमा हुनुपर्ने अनुसन्धानको प्रत्येक विवरण मिडियामार्फत सार्वजनिक गर्ने कार्य र व्यक्तिगत राजनीतिक स्वार्थका आधारमा अनुसन्धानलाई प्रभावित गर्ने काम भएको देखिन्छ । अनुसन्धानलाई अनुचित प्रभाव पार्ने र गोपनियताको भंग गर्ने व्यक्तिहरुमाथि पनि अनुसन्धान गरिनुपर्छ र मानव तस्करीमा संलग्न भई सर्वसाधारणबाट करोडौँ असुल गर्ने जोकोहीलाई सरकारले साक्षीका रुपमा प्रस्तुत गरी मुद्धा नचालउने कार्यले सन्देह पैदा गरेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसले अनुसन्धान अधुरो र अपुरो हुने देखिन्छ भन्ने ठहर हुन्छ ।’

अभियुक्तहरुले प्रहरी हिरासतमा दिएको बयानलाई प्रभाव पार्न उच्च प्रहरी अधिकारी र प्रशासनिक अधिकारीको योजनामा कतिपय अभियुक्तहरुको थप बयान लिएर नेकपा (एमाले) नेताहरु, अख्तियारका प्रमुख आयुक्तलाई समेत आरोप लगाउने, वद्नाम गराउने सोही बयानलाई आधार मानेर कानुनी कारबाही गर्ने गराउने र राजनीतिक प्रतिशोध लिने तहसम्मको षडयन्त्र भएको महशुस भएको पनि उल्लेख गरिएको छ ।

‘नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला कार्यदल बनाउने काम भएको तर कार्यदलले मानवतस्करीको योजना कुनै भएको छैन । बालकृष्ण पन्थी कार्यदलको सक्कली प्रतिवेदन समेत मानव तस्करी जस्तो कार्यमा सघाउ पुग्ने कुनै काम गरेको छैन । अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गरेपनि कांग्रेस–माओवादीको सरकार बनेपछि मानव तस्करीको योजना कार्यान्वयन भएको तथ्यलाई वेवास्था गरी एक जना कांग्रेस निकट अभियुक्तले एमालेलाई बदनाम गर्ने गरी बयाना दिएको भनेर त्यसलाई प्रचार गर्ने र गराउने कामले सरकार र प्रहरी अनुसन्धानमा राजनीतिक स्वार्थ जोडिएको छ भन्ने प्रष्ट हुन्छ,’ ज्ञापनपत्रमै भनिएको छ, ‘अपराध अनुसन्धानमा राजनीतिक रंग दिने काम तत्काल बन्द गरिनुपर्छ । कुनै पनि अभियुक्त दोषी वा निर्दोष भन्ने अधिकार न्यायलयमा मात्रै निहीत हुन्छ । कुनै पनि अपराधिले उन्मुक्ति पाउनु हुँदैन । हचुवाकै भरमा दुःख दिने नियतले कसैलाई राजनीतिक प्रतिशोधकै लागि मुद्धा अघि बढाउँदा न्याय मर्ने निश्चित हुन्छ । राजनीतिक अभिष्ट पूरा गर्न बयान फेर्न लगाउने वा जथाभावी नाम उल्लेख गर्ने र अनुसन्धान हुनु अघि नै गोपनीयताका सबै कुरा सार्वजनिक गर्ने कुरा बन्द गर्न ध्यानाकर्षण गराउँछौँ ।’

सत्ताको आडमा दोषीहरुले उन्मुक्ति पाउने र निर्दोष व्यक्तिहरुलाई प्रायोजित ढंगले फसाउन प्रहरीकै सक्रियतामा बयान दिन लगाउने, आरोपितले गरेको बयान भन्दा फरक र पूर्वाग्रही ढंगले बयान तयार गर्ने काम भयो भन्ने कुरा सार्वजनिक भएका भन्दै दोषीलाई उम्काउने र निर्दोष फसाउने गरी रातारात भैरहेको चलखेल, षडयन्त्र र पूर्वाग्रही गतिविधिहरुप्रति युवा संघ नेपाल गम्भीर भएको उल्लेख ज्ञापनपत्रमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *