कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका १७ जना पक्राउ

विराटनगर, १४ जेठ । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरका १७ जना आन्दोलनकारी पक्राउ परेका छन् ।

मोरङ प्रहरीले कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका उनिहरूलाई विराटनगरको देवकोटा चाेकबाट पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरूमा किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राई, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत एलभी लेखिएको हेल्मेट लगाएको समूह रहेका छन् ।

गत पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो। त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो। आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ।

प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ।