संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित

काठमाडाैं, १४ जेठ । प्रतिनिधिसभाको आजको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको छ ।

प्रतिनिधिसभाबाट सांसदहरू पदम गिरी, पशुपति शमशेर जबरा, ईश्वरी घर्ती, महेशकुमार बर्तौला, रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, प्रकाश अधिकारी, लीलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की मनोनित हुनुभएको हो ।

प्रतिनिधिसभाको आजको बैठकले संसदीय सुनुवाई समितिमा रहने सांसदहरूको नामावलीमाथि बहुमतले सहमति जनाएको हो ।

आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८०’ पारित गरेको थियो ।

सोही नियमावलीको व्यवस्थाअनुसार संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाई समितिमा सांसदहरु मनोनित हुनुभएको हो ।