बाढीको क्षतिले सेयर बजारमा पहिरो: नेप्से ४३.८९ अंकले घट्यो, जलविद्युत् र बीमा समूहमा उच्च गिरावट

काठमाडौँ, १५ भदौ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा नेप्से परिसूचक ४३.८९ अंकले ओरालो लागेको छ । गत साताको विनाशकारी बाढीको नकारात्मक प्रभाव लगानीकर्ताको मनोविज्ञानमा देखिँदा नेप्से परिसूचक २५१३.४१ विन्दुमा झरेको हो ।

भदौ १० गते बुधबार आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाहरूमा पुगेको ठुलो क्षति र बीमा कम्पनीहरूमा थपिएको दायित्वका कारण बजारमा तीनवटा समूहले ठुलो गिरावट बेहोरेका छन् । सोमबार निर्जीवन बीमा समूह सबैभन्दा धेरै ५.०३ प्रतिशतले घटेको छ । त्यस्तै, पुनर्बीमा कम्पनीहरू समेत समावेश रहेको ‘अन्य’ समूह ३.३० प्रतिशत र जलविद्युत् समूह २.९४ प्रतिशतले ओरालो लागेका छन् ।

बाढीले एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरूमा क्षति पुर्‍याएको र सवारीसाधन, घर तथा उद्योगहरूको ठुलो मात्रामा बीमा दाबी भुक्तानी गर्नुपर्ने भएपछि यी क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा उच्च दबाब देखिएको हो । अन्य समूहमा रहेका नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयरमा पनि उच्च गिरावट आएको छ ।

नेप्सेसँगै सोमबार कारोबार रकममा पनि सामान्य कमी आएको छ । अघिल्लो दिन ३ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ३ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ । सोमबार बजारमा कुल २८० भन्दा बढी कम्पनीको कारोबार भएकोमा जम्मा २१ कम्पनीको मूल्य बढेको छ भने २५३ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

यस दिन अन्य उपसमूहहरूमा पनि गिरावट देखिएको छ । बैंकिङ १.००, विकास बैंक ०.९६, फाइनान्स १.४१, होटल तथा पर्यटन २.४४, लगानी १.१९, जीवन बीमा १.९७ र माइक्रोफाइनान्स उपसमूहमा पनि रातो सङ्केत देखिएको छ ।