रसुवामा विद्युत् सुचारु गर्न साञ्जेन आयोजना ‘आइसोलेटेड मोड’मा चलाइने, चिनियाँ कम्पनीसँग समन्वय सुरु
काठमाडौँ, १५ भदौ । विनाशकारी बाढीका कारण विद्युत् सेवा ठप्प भएको रसुवामा बिजुली सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणले नयाँ विकल्प अघि सारेको छ । प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई राष्ट्रिय प्रसारण प्रणालीबाट छुट्टै अर्थात् ‘आइसोलेटेड मोड’मा सञ्चालन गरी स्थानीय क्षेत्रमा तत्काल विद्युत् आपूर्ति गर्ने तयारी थालेको हो ।
साञ्जेन जलविद्युत् गृहबाट बिजुली उत्पादन गरी स्थानीय प्रणालीमा जोड्न उपकरणको ‘पासवर्ड रिसेट’ गर्नुपर्ने प्राविधिक आवश्यकता देखिएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित चिनियाँ कम्पनीसँग समन्वय गरिरहेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार चिनियाँ कम्पनीबाट आवश्यक प्राविधिक सहयोग र पासवर्ड प्राप्त हुनासाथ आज साँझसम्म रसुवाको सदरमुकाम धुञ्चे लगायतका क्षेत्रमा विद्युत् सेवा पुनः सुचारु गर्ने लक्ष्य राखिएको छ । राष्ट्रिय प्रसारण लाइनका पोल र तारमा बाढीले ठुलो क्षति पुर्याएकाले वैकल्पिक रूपमा स्थानीय उत्पादनलाई नै प्रयोग गर्न लागिएको हो ।
बाढीबाट अत्यधिक क्षतिग्रस्त भएका र तत्काल विद्युत् प्रणालीमा जोड्न सम्भव नभएका क्षेत्रहरूमा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य ऊर्जा (सोलार) को व्यवस्था गर्ने तयारी भइरहेको छ । सरकारले मर्मत कार्यलाई तीव्रता दिनुका साथै तत्कालको आवश्यकता टार्न वैकल्पिक ऊर्जाका स्रोतहरू समेत परिचालन गर्ने रणनीति लिएको छ ।
पाँच दिनदेखि अन्धकारमा रहेको रसुवामा विद्युत् सेवा सुचारु भएपछि सञ्चार सम्पर्क र उद्धार कार्यमा थप सहजता आउने अपेक्षा गरिएको छ ।