‘बुक फ्रि फ्राइडे’ अभियान प्रभावकारी बनाउँदै महानगरपालिका, उपमेयर डंगोलबाट शितला माविमा ‘कोड क्लव’ गठन

काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शितला माध्यमिक विद्यालय, बोहोराटार,वडा नम्बर १६ पुगेर ‘कोड क्लव’ गठन गर्नुभएको छ । ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम निरीक्षणका लागि त्यहाँ पुग्नु भएकी डंगोलले क्लव शुभारम्भ गर्नुभएको हो । डंगोल त्यहाँ पुग्दा क्लबका विद्यार्थीहरू खेल मैदानमा फुटबल, बास्केटबल र टेवुलटेनिस खेले जसरी रमाउँदै कप्युटरबाट नयाँ कार्यक्रम बनाउन व्यस्त थिए । कोही कोडिङमा त कोही एनिमेसन गरिरहेका थिए ।

यसरी निर्माण गरिएका कार्यक्रमहरू १६० देशका विद्यार्थीको नेटवर्कमा पुग्छ । यही प्लेटफर्मबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा समेत गर्न सकिन्छ । ‘कोड क्लब अहिले महानगरका १४ वटा सामुदायिक विद्यालयमा सुरु भइसकेको छन,’ डंगोलले भन्नुभयो, ‘यसलाई विस्तार गरेर सबै सामुदायिक विद्यालयमा गठन गर्ने योजना छ ।’

डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले डिजिटल एण्ड वियोण्डसँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको जानकारी दिएको छ । क्लवका विद्यार्थीहरुले विद्यालयको आफ्नै वेभसाइट निर्माण गर्न सक्ने र यसबाट विद्यालयको परिचय विश्व सामु पुग्ने महानगरपालिकाको भनाई छ । निरीक्षणमा उपप्रमुख डंगोलसहित प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, शिक्षा सल्लाहकार रेशु अर्याल, शिक्षा विभागका प्रमुख सीताराम कोइरालासहित पुग्नु भएको थियो ।

‘सूचना तथा प्रविधिको बढ्दो प्रयोग र दक्षताको आवश्यकतालाई मध्यनजर गर्दै काठमाडौँ महानगरले १४ वटा विद्यालयमा ‘कोड क्लव’ कार्यान्वयन गरेका छौं,’ डंगोलले भन्नुभयो, ‘डिजिटल शिक्षालाई हरेक विद्यालयमा प्रवर्दन गर्ने उद्देश्यले डिजिटल एण्ड बियोण्डको सहकार्यमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरुलाई कम्प्युटर ल्यांग्वेज कोडिंङ्ग सिकाउने एउटा नविन कार्यको सुरुवात गरेका छौं। यस्तो सीप सिकिरहेका विधार्थीले आफ्नै विद्यालयको वेबसाईटको व्यवस्थापनमा समेत सहयोग गरेका छन्। ‘विश्वबारे सोच, स्थानीयस्तरमा काम गर’ भन्ने अवधारणा अनुसार सबै विद्यालयहरुमा गूगल वोर्कस्पेस समेत कार्यन्वयनमा ल्याउन लागेका छौं।’

उहाँले डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न र विद्यार्थी र शिक्षकहरूलाई नवीनतम प्राविधिक उपकरणहरूको साथ सशक्त बनाउने सोचले महानगरपालिकाले यस्तो कार्य सुरु गरेको उहाँको भनाई छ । ‘यो कार्यक्रमले विद्यार्थीको सीप, विद्यार्थीहरूको शैक्षिक तथा सोच विकास र आलोचनात्मक बिचारको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास छ,’ उहाँले भन्नुभयो ।

ती विद्यालयहरुमा शिक्षामा सीप कार्यक्रमअन्तर्गत सौन्दर्य कला र हेयर स्टाइल (कपाल शैली) सिकाइ भइरहेका छन् । तरुण माध्यमिक विद्यालयमा बुक फ्रि फ्राइडे अन्तर्गत नेपाल भाषाको संगीत, चित्रकला, हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको पनि महानगरपालिकाले जानकारी दिएको छ । त्यहाँ सिपमूलक तालिमअन्तर्गत मोवाइल र विद्युतीय सामग्री मर्मत गर्ने, कृषि तथा सहरी खेती र पाक कलाको कक्षा भइरहेको छ ।

निरीक्षणपछि उपप्रमुख डंगोलले, प्रतिस्पर्धी जमानाका लागि व्यवहारिक शिक्षाको आवश्यकता पूरा गराउन नयाँ सिकाइ पद्धति कार्यान्वयनमा ल्याइएको बताउनुभयो । बालबालिकालाई किताबमा सीमित गराइयो भने विद्यार्थीहरुलाई शिक्षाको वृहत्तर आकृति देखाउन सकिँदैन,’ उहाँले भन्नुभयो, ‘यसबाट बाहिर आउन ‘बुक फ्रि फ्राइडे’ लाभदायी हुनेछ ।’