कोशी प्रदेशमा एमाले–राप्रपा एकै ठाउँ, माओवादी अलमलमा, कांग्रेसलाई सरकार ढाल्ने हतारो
विराटनगर, २३ जेठ । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रलेआफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरे लगत्तै सरकारमा सहभागी दल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले छलफल गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने पहल गर्ने निर्णय गरेको छ । यो भनेको तत्कालै एमालेलाई दिएको समर्थन फिर्ता नलिने भन्ने सन्देश हो ।
अहिले कोशी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार छ । एमाले नेतृत्वको सरकारमा माओवादी र राप्रपा रहेका छन् । एक मात्रै सांसद रहेको उपेन्द्र यादव नेतृत्वको पार्टीले भने समर्थन फिर्ता लिइसकेको छ । राप्रपासँगको छलफलमा पनि राप्रपाले एमाले नेतृत्वको सरकारको विकल्पबारे अन्य नसोचेको जवाफ दिएको छ । राप्रपा संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलासहितका नेतासँग मुख्यमन्त्री हिक्मत कार्कीले छलफल गर्नुभएको थियो । राप्रपासँगको छलफल सकारात्मक रहेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिनुभयो ।
‘सरकारबाट माओवादी फिर्ता हुने भनेर चलेको हल्ला, बजेटलगायतका विषयमा राप्रपासँग कुराकानी भयो,’ छलफलमा सहभागी भण्डारीले भन्नुभयो, ‘राप्रपाको फरक धारणा आएको छैन । अहिलेसम्म जे धारणा छ । त्यहि धारण हो ।’ एमाले नेतृत्वको सरकारलाई नै निरन्तरता दिने भन्ने राप्रपाको पनि धारणा हो ? भनेर गरेको प्रश्नमा भण्डारीले भन्नुभयो–‘त्यहि नै हो ।’
बजेटको सम्मुखमा मावादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने चर्चा छ नि ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘त्यस्तै हल्ला चलिरहेको हामीले पनि सुनेका छौँ । औपचारिक रुपमा त्यो आएको छैन । बजेट नीति तथा कार्यक्रम ल्याउने बेलामा सरकार परिवर्तन गर्नु उचित होइन भन्ने निष्कर्ष निस्किएको छ । त्यसैले यहि सरकारले बजेट ल्याउँछ ।’
भण्डारीले बैठकमा राप्रपाका संसदीय दलका नेतासहित अन्य प्रदेश सांसदसमेत सहभागी रहेको जानकारी पनि दिनुभयो । एमालेबाट प्रदेश मन्त्री, एमाले संसदीय दलका सचेतक र विराटनगरमा उपलब्ध केही प्रदेश सभा सदस्य सहभागी थिए । राप्रपाले पनि यो सरकारको निरन्तरताबाहेक अरू नसोचेको बताएको छ । कांग्रेस भने जतिसक्दो छिटो प्रदेश एक सरकार ढाल्ने हतारोमा छ । सबै भन्दा ठूलो दल रहेको एमालेलाई राप्रपाको साथ रहुन्जेल सरकार फेरबदलको गतिणमा समस्या पर्ने देखिन्छ ।