कोशी प्रदेशमा एमालेलाई दिएको समर्थन फिर्ताबारे सोचेका छैनौँः भक्ति सिटौला, राप्रपा संददीय दलका नेता
विराटनगर, २३ जेठ । कोशी प्रदेशमा सरकार फेरबदलको चर्चा चलिरहेका बेला सरकार फेरबदलका लागि प्रमुख शक्ति मानिएको राप्रपाले तत्काल सरकार फेरवदलको संभावना नरहेको बताएको छ ।
कोशी प्रदेश राप्रपा संसदीय दलका नेता तथा सरकारका उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले यस्तो बताउनु भएको हो । यहि विषयमा मुख्यमन्त्री हिक्मत कार्कीसहितका नेतासँग छलफल गरिसक्नु भएका सिटौलाले यस्तो बताउनु भएको हो । ‘मुख्यमन्त्रीसहित एमालेका नेताहरुसँग छलफल भयो,’ सिटौलाले भन्नुभयो, ‘आज आगामी असार १५ भित्रमा हाम्रो सरकार बहुमतमा छ भन्ने प्रमाणित गर्न विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । त्यसका लागि आवश्यक तयारी गर्ने र विश्वासको मतलाई सामना गर्ने भनेर छलफल गर्यौ ।’
सिटौलाले कोशी प्रदेश सरकारलाई समर्थन गर्ने दलहरु मध्ये अहिलेसम्म जसपाले मात्रै समर्थन फिर्ता लिइएको भन्दै अहिलेसम्मको अवस्थामा बहुमत सांसदको समर्थन रहेको बताउनुभयो । ‘छलफल बजेटलगायतका विषयमा पनि कन्द्रित भयो छौँ,’ उहाँले भन्नुभयो, ‘बजेट अघि सरकार फेरबदल हुने संभावना छैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ । हामीलाई समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिए भने त्यसपछि कुन ढंगले अघि बढ्ने हो सोचौँला ।’
उहाँले अहिलेसम्म हामीले नेकपा (एमाले)को नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेमा नसोचेको पनि उहाँले बताउनुभयो । ‘अहिले तत्कालका लागि केही हुँदैन,’ मैत्रिन्युजसँग सिटौलाले भन्नुभयो । अहिले एमालेका ४०, माओवादीका सभामुखसहित १३ र राप्रपाका ६ सांसदहरुको समर्थनमा एमालेका कार्की मुख्यमन्त्री हुनुुहुन्छ । एक सांसद रहेको जसपाले भने समर्थन फिर्ता लिइसकेको छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ । यस्तो अवस्थामा प्रदेशमा एमालेसँग ४० र राप्रपाको ६ जोड्दा ४६ सिट हुन्छ ।
एमाले–राप्रपा मात्रै एकै ठाउँ रहेको अवस्थामा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा सबै दल मिल्दा पनि बुहमत पुग्दैन । बुहमतका लागि ४७ चाहिन्छ । तर, माओवादीको सभामुखले मतदान प्रक्रियामा सहभागि हुन पाउनुहुन्न यस्तो अवस्थामा नेपाली कांग्रेसको २९, माओवादीको १२, एकीकृत समाजवादी ४ र जसपाको १ गर्दा पनि जम्मा ४६ हुन्छ । ४६ ले बुहमत पुग्दैन । त्यसैले अहिले राप्रपाले साथ नछाडेको अवस्थामा अर्को सरकार बनाइ हाल्ने अवस्था नहुँदा माओवादीका सांसदहरु सरकार फेरवदलको हतारोमा नरहेको बुझिएको छ ।