पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारको तीन सदस्यीय समिति

काठमाडौं, २४ जेठ । कोशी प्रदेश नामांकनपछि अहिले त्यहाँको वातावरण आन्दोलित बनेको छ । कोशी प्रदेशको विरोधमा पहिचानवादीहरुले गरेको निरन्तर आन्दोलनका कारण एकपछि अर्को समस्या थपिदैँ गएको छ । दिनहुँ जस्तो हुने आन्दोलन र झडपका कारण वातावरण नै अशान्त बन्न थालेपछि कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय टोली गठन गरेको छ ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गर्नुभएको हो । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वो नेतृत्वको समितिमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता तथा कृषि मन्त्री भक्तिप्रसाद सिटौला सदस्य रहनु भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले वार्ता टोली गठन गरेको हो । गत फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले त्यसमा असहमति जनाउँदै संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका थिए । त्यतिबेला सरकार बाहिर रहेको नेपाली कांग्रेसको सहित समर्थनमा कोशी प्रदेश पारित भएको थियो । त्यतिबेला माओवादी सरकारमै थियो । हिजो मात्रै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।