कोशी प्रदेशका पहाडी जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, २८ जना अझै बेपत्ता

विराटनगर, ४ असार । कोशी प्रदेशका विभिन्न स्थानमा आएकाे बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ भने २८ जना अझै बेपत्ता रहेका छन् ।

बेपत्ता रहेका २८ जनाकाे नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्वार र खोजीकार्य गरिरहेका छन् । सशस्त्रका डीआईजी अन्जनीकुमार पोखरेलले खोजी कार्य जारी रहेको बताउनुभयाे । दुई दिन नाघिसकेकाले उनीहरूको जीवितै उद्धार हुने सम्भावना समेत न्यून रहेको उहाँले बताउनुभएकाे छ । पहाडी भेगमा आज पनि पानी परिरहेकाले खोजउद्धार प्रभावित भएको पनि बताइएको छ ।

संखुवासभाको सुपर हेवा खोला जलविद्युत आयोजनामा कार्यरत १८ जना मजदुर हेवा खोलाको बाढीले बगाएर बेपत्ता भएका छन् । सोमबार बिहानसम्म पनि उनीहरूको अवस्था यकिन हुन सकेको छैन । पहिरोले घर पुर्दा १० र बाढीले बगाएर १८ जनासहित २८ जना बेपत्ता भएका छन् ।

पहिरोले पुरेर र खोलाले बगाएर ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष, एक बालिका र २ महिला छन् । ताप्लेजुङमा ३, पाँचथर २, भोजपुर र संखुवासभामा एक-एक जनाको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुङ-८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका- ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ- ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा-६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई छन् । यस्तै एलिशा माझीको पनि मृत्यु भएको छ ।

शनिबार रातिदेखिको अविरल वर्षापछि हिमाली र पहाडी जिल्लामा बाढी पहिरो गएपछिको उत्पन्न परिस्थिति मूल्यांकन गरी राहत तथा उद्धारको कार्य अघि बढाइने मन्त्रालयका प्रवक्ता तथ उपसचिव अर्जुन निरौलाले जानकारी दिनुभयाे ।

आइतबार कोशी प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठक बसी क्षतिको विवरण लिई राहत उद्धार शुरु गरिने निर्णय भएको निरौलाले बताउनुभयाे ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार सबैभन्दा ठूलो क्षति संखुवासभामा भएको छ । बाढीले मोटरेवल, बेलिब्रिज र झोलुङ्गेसहित १३ वटा पुलहरू बगाएको छ ।