कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पठाए विश्वासको मत माग्दै विपक्षी दललाई पत्र
विराटनगर, १४ असार । विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाकाे विपक्षमा रहेका दलहरुलाई पत्र पठाउनुभएकाे छ ।
मुख्यमन्त्री कार्कीले आज बस्ने प्रदेश सभाकाे बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनुअघि नेपाली कांग्रेस, माओवादी केन्द्रसहित विपक्षी दललाई पत्र पठाउनु भएकाे हाे ।
पत्रमा नेपालको संविधान र प्रचलित कानुन बमोजिम बिहीबार बोलाइएको प्रदेश सभा बैठकमा आफुले विश्वासको मत लिन लागेको उल्लेख गर्नुभएकाे छ ।
प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरु पुरा गर्नका निम्ति पटक–पटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा संघीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्ने भन्दै उहाँले पत्रमार्फत प्रतिपक्षी दलहरुको ध्यानाकर्षण गराउनुभएकाे हाे ।
माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा पर्नुभएका कार्कीले आज दिउँसो १ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिनुहुने कार्यसूची छ । प्रदेश सभा सचिवालयले विश्वासको मत लिनका लागि कार्यसूची समेत निकालिसकेको छ ।