बुटवलका दुई सुन पसल तस्करकाे अशंकामा सिल
रुपन्देही, १८ असार । रुपन्देहीको कालिदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुन प्रकरणमा संलग्न भएकाे आशंकामा बुटवलका दुई सुन पसल सिल गरिएकाे छ ।
यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद सुन बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटाजस्तो आकारकाे सुन एक केजी ९६५.३ ग्राम तौल प्रमाणित भएको थियो ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालीदह नाका हुँदै असार १० गते भारततर्फ सीमा पार गर्न लागेको बा१२च ३८२० नम्बरको मारुती सुजुकी कार सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले चेकजाँच गर्दा उक्त सुन बरामद गरेको थियो ।
बरामद सुन र कार भैरहवा भन्सार कार्यालयमा बुझाइ थप अनुसन्धान गर्दा उक्त सुन प्रकरणमा बुटवल अमरपथस्थित बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलका सञ्चालकको संलग्नता देखिएपछि ती पसल सिल गरेर अनुसन्धान अगाडि बढाएको छ ।
सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिका बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपति सुनचाँदी पसलको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले दुवै पसलमा सिल गरी थप अनुुसन्धान अघि बढाइएको भैरहवा भन्सार कार्यालयका प्रवक्ता युवराज भट्टराईले बताउनुभयो ।
कालीदह नाकामा सुनसहित पक्राउ परेका दाङ घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको छ । बरामद गरिएकाे सुन करिब रु दुई करोड मूल्य बराबरकाे रहेकाे थियाे ।
