प्रमुख तीन दलबीच संसदीय समितिको सभापति चयन गर्ने सहमति

काठमाडौं, १९ असार । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संसदीय समितिको सभापति चयन गर्ने सहमति जुटेको छ ।

मंगलबार सिंहदबारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता र सभामुख देवराज घिमिरेसहितकाे बैठकले सभापति चयन प्रक्रिया अघि बढाउने सहमति गर्नुभएकाे हाे ।

सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशील, स्तरीय बनाउने बारेमा पनि छलफल भएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘संसदीय गतिविधिलाई कसरी अलि प्रभावकारी, गतिशिल, स्तरीय बनाउने भन्नेबारेमा छलफल भएकाे छ । त्यसमा पनि लामो समयदेखि संसदीय समितिहरुको नेतृत्व ज्येष्ठ सदस्यबाट भइरहेको छ, त्यो परिस्थितिलाई तुरुन्त अन्त्य गर्नुपर्छ ।

उहाँले भन्नुभयाे, त्यसमा सल्लाह सुझाव मागें, चुनाव गर् भन्नुहुन्छ की सहमति गर्नुहुन्छ, त्यसमा तत्काल भएन भने मैले आफ्नो स्टेप चाल्नुपर्नेछ भनेर भने। मुलतः संसदीय गतिविधिलाई प्रभावकारी पार्नका लागि छलफल भयो । उहाँहरु गम्भीर हुनुभएको छ, तुरुन्त समाधान गर्ने भन्नुभएकाे छ।’

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले
राजनीतिमा देखिएका विकृति, विसंगति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भएको बताउनुभयाे ।

दलहरुबीच सहमति नहुँदा प्रतिनिधिसभाको संसदीय समितिको सभापति चयन हुन सकेकाे छैन् । हाल ती समितिका बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ । सभापति चयन हुन नसक्दा समितिमा पुगेका विधेयकमाथिको कारबाही अघि बढ्न सकेको छैन।