साल्ट ट्रेडिङ कर्पोरेशनमा अधिकृतदेखि प्रमुखसम्मः उर्मिला श्रेष्ठको ३५ वर्षे उतारचढाव (भिडियोसहित)

 

 

 

 

 

 

काठमाडौंँ, २१ असार । काठमाडौंको थँहिति जन्मिनु भएकी उर्मिला श्रेष्ठ २०२० साल भदौ २७ गते स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । केही दिन अघि उहाँकै कार्यकक्षमा मैत्रिन्युजको टिम कुराकानी गर्न पुग्दा उहाँ निकै व्यस्त हुनुहुन्थ्यो । व्यस्त समयका बाबजुद पनि केही समय हामीसँग उहाँले कुराकानी गर्नुभयो ।

छोटो समयमा पनि उहाँसँग हामीले उहाँको बाल्यकाल, लामो जागिरे जीवन र उहाँको पारिवारिक पृष्ठभूमिका बारेमा पनि केही खोतल्ने प्रयास गरेका छौँ । सुरुमै उहाँसँग बाल्यकालका बारेमा जिज्ञासा राख्दा उहाँ नोस्टाल्जिया हुनुभयो । शिक्षित र संयुक्त परिवारमा हुर्किनु भएकी श्रेष्ठको बाल्यकाल बाजे–बज्यैको रेखदेखमा वितेको रहेछ । त्यतिबेला नै उहाँका पिता इन्द्रला श्रेष्ठ नेपाल चेम्बर अफ कमर्समा समेत आवद्ध रहनु भएकाले धेरै समय उपत्यका र देश बाहिर रहनु हुने रहेछ । पिता व्यापार–व्यवसायमा व्यस्ता हुँदा पनि उर्मिला उहाँको अभाव नहुने गरी बाजे–बज्यैको रेखदेखमा हुर्किनु भएको रहेछ ।

उहाँको माइला बुबा अर्थात बौद्धिक व्यक्तित्व प्राध्यापक माणिकलाल श्रेष्ठको समेत न्यानो मायामा उर्मिला हुर्किनु भएको रहेछ । श्रेष्ठको परिवार नै प्रगतिशील चेत भएको अर्थात् छोरीलाई पनि पढाउनु पर्छ भन्ने संस्कारको परिवार भएकाले शिक्षा–दीक्षा कुनै कमी भएन । सर्वोच्च अदालतको प्रथम महिला न्यायाधीश सुशीला सिंह ‘सिलु’ उर्मिलाको माइलो ममी अर्थात माणिकलालको पत्नी हुनुहुन्थ्यो । उर्मिलाको परिवार प्रगतिशील थियो भन्ने एउटा उदाहरण यो पनि हो । उहाँले हामीसँग कुराकानीकै क्रममा एउटा रमाइलो अनुभव सुनाउनुभयो । सँगैका साथीहरुले व्यवस्थापनमा स्नातक गर्दा ठूलो भोजको आयोजना भएछ ।

तर, उर्मिलाको परिवारमा भने त्यस्तो केही नहुँदा साथीहरुले ‘यति महत्वपूर्ण उपलब्धि हात पार्दा पनि तिम्रो घरमा त भोजको समेत आयोजना नहुने रहेछ है’ भनेर उर्मिलालाई सोधेछन् । उहाँले हामीसँग ती दिनको सम्झना गर्दै भन्नुभयो–‘हाम्रो परिवारका लागि त्यो सामान्य कुरा भैसकेको थियो । हामी भन्दा अघि नै धेरै जनाले त्यो उपलब्धि हात पारेकाले पनि सामान्य जस्तो भएको थियो ।’

उहाँको बाजे शुब्बा भएका कारण पनि सबैले मान्ने परिवार थियो । शिक्षित परिवारमा हुर्किएर पनि उहाँमा कहिल्यै विदेश जाने र विदेश पलाएन हुँने सोच पलाएनछ । नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोँचका कारण नै अहिले उहाँ ६० वर्षे लामो इतिहास बोकेको संस्था साल्ट ट्रेडिङ कर्पोरेशनको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । त्यति मात्रै होइन उहाँ नेपाल चेम्बरको उपाध्यक्षको समेत जिम्मेवारीमा हुनुहुन्छ । उहाँ यसलाई आफ्नो निरन्तरको सफलता ठान्नुहुन्छ । ‘त्यतिबेला म मात्रै होइन मेरो परिवारमै स्वदेशमै केही गरौँ भन्ने देशप्रतिको माया थियो । मलाई देशप्रतिको मायाले तानेपछि विदेशबारे सोच्दै सोचिन,’ उहाँले भन्नुभयो, ‘परिवर्तन गर्नुपर्छ त्यो आफ्नो होइन देशका लागि हुनुहुन्छ भन्ने सोँचका कारण केही समय विदेशमा सिकको अनुभवसहित स्वदेश फर्किएर सेवा गरेको हो ।’

काठमाडौंको शिक्षित परिवारमा हुर्किनु भएकी उर्मिलाको बिबाह भने विरगञ्जमा भयो । माइतीघरबाट पराइघर जाँदा आफ्नो जागिर र अध्ययनमा अवरोध हुने हो कि भन्ने उहाँलाई चिन्ता लागेको रहेछ । तर, बिबाह भएपछि पनि घरबाट प्राप्त सहयोगका कारण उहाँको यात्रा अविराम अघि बढिरहयो । बिबाह गरेपछि जागिरमा खेपेको हैरानीका कारण त एक पटक सासुआमाले उर्मिलालाई जागिर छाड्न सल्लाह दिएर त्यति तलब घरमै दिने प्रस्ताव समेत गर्नुभएछ । तर, पछि सासुआमा समेत ‘कन्भिन्स’ भएपछि काम गर्न थप सहज भएको अनुभव पनि उर्मिलाले बताउनुभयो ।

त्यो बेला जागिरे जीवनका बेला महिलामाथि हुने अपमान उहाँले पनि केही हदसम्म खेप्नु भएको रहेछ । तर, भागेर होइन सामना गरेर अघि बढ्नुपर्छ भन्ने ‘इगो’का कारण उहाँ जागिरमा निरन्तर टिकिरहनुभयो । अहिले त्यसैको परिणाम स्वरुप त्यति संस्थाको प्रमुखको हैसियतमा उहाँ पुग्नुभएको छ ।

जागिरबाट हटाउने उदेश्यले ०५३–०५४ सालतिर माओवादीको शसस्त्रयुद्ध उत्कर्समा पुगेका बेला र कुनै पुरुषहरु समेत त्यहाँ जान नमनी रहेका बेला उहाँलाई हेटौँडाको जिम्मेवारीमा खटाइएको रहेछ । तर, उहाँले त्यहाँको जिम्मेवारी पनि कुशल ढंगले पूरा गरेर फर्किएको इतिहास पनि उहाँसँग ताज रहेछ । महिला भएकाले म गर्न सक्दिँन भन्ने भावना अन्तरकुन्तरमा पनि राख्नुहुन्न भन्ने मान्यता राख्ने उर्मिला आरक्षण खोज्ने भन्दा पनि उत्तरदायित्वमा विश्वास गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।

जागिरे जीवनमा भोगेका पीडादायी उतारचढावका पनि खातहरु उर्मिलासँग टन्न रहेछन् । उहाँले केही त्यस्ता पलहरु पनि हामीसँगको भेटमा खोतल्नुभयो । हेटौँडाको जिम्मेवारीमा खटाउँदा उहाँ भर्खर नयाँ घर बनाउने तयारीमा हुनुहुुँदो रहेछ । त्यतिबेला सानो बच्चलाई मावलीमा छाड्नुपर्ने श्रीमान एकातिर अनि आफू हेटौँडा हुँदाको पीडादायी पल अहिले पनि उहाँको मानसपटलमा ताजै रहेछ । त्यस्तो बेलामा पनि आफ्नो श्रीमानले जागिरका लागि गरेको सहयोग उहाँका लागि प्रेरणादायी रहेछ । सासु–ससुराले पनि उहाँलाई निकै ठूलो सहयोग गरेको सम्झना पनि ताजै रहेछ ।

आज भन्दा करीब ३५ वर्ष अघि अर्थात जागिरे जीवनको सुरुवातमा उहाँले अधिकृतमा सेवा सुरु गर्दा अधिकृत महिलाको संख्या न्युन थियो रे । जागिरे जीवनका सुरुका दिनमा उमेरमा उहाँ भन्दा जेठा तर, पदमा तत्लो तहका पुरुषहरुले ‘यस्ले काम गर्छे र, यस्तो सानो मान्छेले भनेको कुरा के टेर्नु’ भन्ने जस्ता हीनभाव प्रकट गर्ने र कठोर शब्दहरुको पनि उहाँले सामना गर्नुपरेको तीतो अनुभव पनि रहेछ । यो अनुभव उहाँले महाप्रवन्धक हुँदासम्म समेत कता–कता सामना गर्नु परेको स्मरण पनि गराउनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिलासँग उहाँको जीवन भोगाइका उतारचढाव, संस्थाको विकास र प्रगतिलगायतका विषयमा केन्द्रित भएर गरेको कुराकानीः

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *