शीर्ष तीन दलका नेताहरूबीच आजपनि छलफल जारी

काठमाडाैं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगाएत शीर्ष नेताहरूबीच आजपनि छलफल जारी रहेकाे छ ।

प्रधानमन्त्री प्रचण्डसहित प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा छलफल सुरू भएको हो।

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गर्नुभएकाे छ ।

प्रमुख तीन दलका शीर्ष नेता अहिले अवरोध खुलाउने विषयमा छलफलमा जुट्नुभएकाे छ । शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो।

आइतबारकाे बैठकमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन सहमति भए पनि प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रतिका कारण सहमति बिथोलिएको थियो।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिनुभएकाे थियाे ।

त्यस पश्चात गत बुधबारदेखि प्रमुख प्रतिपक्षी नेकपा(एमाले)लगायतका दलले प्रधानमन्त्री प्रचण्डकाे राजीनामा माग्दै संघीय संसदका दुवै सदनको बैठक अवरोध गर्दै आएका छन् ।