ठूलाे रकमकाे विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ

काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलाे रकमकाे विदेशी मुद्रासहित चार जना पक्राउ परेका छन् ।

विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७, बहराइन दिनार ३ सय ८ सहित चार जना पक्राउ परेका हुन् ।

प्रहरीले रूपन्देही तिलोत्तमा नगरपालिका-९ तुल्सिपुर घर भएका २४ वर्षीय अनिस थापालाई बुधबार राति पक्राउ गरेको छ। प्रहरीकाे थप अनुसन्धान एवं सोधपुछको क्रममा मुद्राहरू रूपन्देही तिलोत्तमा नगरपालिका-९ घर भएका ३८ वर्षीय दिपेश राना लगायतका व्यक्तिहरूले दिएको भन्ने खुल्न आएपछि दिपेश राना लगायत ३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बागमती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा फेला पारी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ।

हिमालयन एयर लाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्‍यापिङ गरी चाउचाउको बीचमा लुकाई लैजान लागेको अवस्थामा उक्त विदेशी मुद्रा फेला परेको हो।

प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ।