गोरखाको सहिद लखन गाउँपालिकामा व्यावसायिक रेशम किराको खेती

गोरखा, ८ साउन । गोरखाको सहिद लखन गाउँपालिकामा पहिलोपटक व्यावसायिकरुपमा रेशम किराको खेती गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ घैरुङस्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम किराको व्यावसायिक खेती गर्न सुरु गरेको हाे ।

गाउँपालिकाका कृषिशाखाका ऋषि रोकाका अनुसार गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषकले मिलेर समूहमार्फत रेशम किराको खेती गर्न सुरु गरेको हाे । “पालिकाले समूहलाई रेशम किराको खेती गर्न सहयोग पुर्याउने उद्देश्यले फलामका ‘र्याक’ निर्माण र जग्गा भाडामा आर्थिक सहयोग गर्दै आएको छ”, शाखा प्रमुख रोकाले भन्नुभयो, “त्यसबाहेकको सहयोग समूहलाई प्रदेश सरकारले गर्दै आएको छ ।”

“पहिलोपटक उत्पादन थाल्दा पाँच किलो मात्र कोकुन उत्पादन भएको थियो”, उहाँले भन्नुभयो, “यस पटक ५० केजी उत्पादन हुने अनुमान गरिएको छ ।” धागो नै निकालेर बिक्री गर्दा बढी फाइदा हुने भए पनि प्रशोधनको काम भने सुरु भई नसकेकाले समूहले अहिले कोकुन नै बिक्री गर्दै आएको शाखा प्रमुख रोकाले बताउनुभयो । धागो उत्पादन गरेर बिक्री गर्नसके प्रतिकेजी रु पाँच हजारमा बिक्री हुनसक्ने उहाँको भनाइ छ ।

फार्ममा यस पटक ६० हजार रेशम किरा हालिएको मनकामना रेशम खेती कृषि समूहकी सदस्य लिना थापामगरले बताउनुभयो । “किराले २८ दिनदेखि नै कोकुन हाल्न सुरु गर्छ”, उहाँले भन्नुभयो, “लगभग ४० दिनभित्रमा आम्दानी आइसक्ने अवस्थामा पुग्छ ।” किरा राख्नुअघि घाँसको बगैँचा तयार गर्नसके महिनैपिच्छे किरा हालेर उत्पादन लिन सकिने उहाँले जानकारी दिनुभयो ।

“रेशम किरा पाल्नका लागि फार्मलगायतका संरचना निर्माण गर्न भने थोरै जग्गा भए पनि हुन्छ”, उहाँले भन्नुभयो, “घाँस (किम्बु) खेतीका लागि धेरै जग्गा आवश्यक पर्ने हुँदा समूहले करिब सय रोपनी जग्गा समूहले भाडा लिएर घाँस खेती गर्दै आएको छ ।”

समूहले रेशम किराको व्यावसायिक खेती गर्न सुरु गरेपछि एक पटक मात्र उत्पादन लिएको उहाँले जानकारी दिनुभयो ।

रेशम किराको खेती हेर्नका लागि गाउँपालिकाभित्र र बाहिरबाट विद्यार्थीसमेत आउने गरेको उहाँले बताउनभयो । “विद्यार्थी बारम्बार रेशम किराको खेती हेर्न आउँछन्”, उहाँले भन्नुभयो, “विद्यार्थी आउँदा कोकन काट्ने, पानीमा राखेर धागो निकाल्ने काम सिक्ने अवसर पनि यहाँबाट पाएका छन् ।” बिग्रिएका कोकुन विद्यार्थीलाई सिक्नका लागि प्रयोग हुँदै आएको उहाँको भनाइ छ ।

उत्पादित कोकुन बिक्रीका लागि बजार भने समस्या हुँदै आएको उहाँले जानकारी दिनुभयो । “हामीले उत्पादन गरे पनि समयमा बिक्री नहुँदा कोकनको तौल घट्ने गर्दछ”, उहाँले भन्नुभयो, “भनेको समयमा खपत नहुँदा कोकुनलाई धेरै पटक सुकाउनुपर्ने भएकाले तौल धेरै घट्ने भएकाले समस्या हुने गरेको छ ।”

यस पटकको उत्पादन ढिलोसम्म राख्नुपर्दा ३०/३५ केजी अनुमान गरिएको कोकुन घटेर आठ केजी मात्र भएको उहाँले दुःखेसो गर्नुभयो । गाउँपालिकाले जग्गा भाडाका लागि निरन्तर सहयोग गर्दैै आएको जनाएको छ ।