भारी वर्षाका कारण देशका विभिन्न नदीमा जल सतह बढ्याे, नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
काठमाडौं, २३ साउन । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । काठमाडौं उपत्यकामा पनि भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ ।
काठमाडौं उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षाका कारण नदीहरूको जल सतह बढिरहेको छ ।
त्यस्तै भारी वर्षापछि विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जल सतह सतर्कता तहमा पुगेकोले नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । दाङका लमही र लालमटिया तथा बाँकेको कुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।