कपनमा खोला खोतल्न पुग्दा नगर प्रहरी र स्थानीयबीच झडप

काठमाडाैं, २५ साउन । काठमाडौं महानगर प्रहरी बलको टोली कपनको मिलनचोकस्थित खहरे खोला खोतल्न पुग्दा स्थानीय र नगर प्रहरीबीच झडप भएकाे छ ।

बिहीबार बूढानीलकण्ठ नगरपालिकाकाे सिमाना कपनको मिलनचोकस्थित खहरे खोलामा काठमाडौं महानगरपालिकाले समन्वयन नगरी डोजर ल्याएर खोतल्न थालेपछि समस्या उत्पन्न भएको हो।

काठमाडौं महानगरपालिकाले कुनै समन्वयन नगरी डोजर लिएर आएकाे बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीले जानकारी दिए। बिना जानकारी डोजर ल्याएर खोला खोतल्न थालेपछि महानगर प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ।

त्यहाँका स्थानीयहरूले २०२१ सालको नापी नक्सा अनुसार दुबै नगरपालिकाले सिमाना राख्नुपर्ने माग गरेका थिए। तर नापी आएका बेला नापजाँच गर्न नदिँदा अहिलेसम्म समस्या सुल्झिन नसकेको बताइएको छ।

महानगर प्रहरी बलका निरीक्षक ईश्वर वाग्लेले भने बूढानीलकण्ठका मेयरसँग समन्वयन गरेरै डोजर गएको बताए। त्यस्तै, महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यसबारे आफूलाई कुनै जानकारी नआएको बताए।