आजदेखि बहाल बहीहरूमा बहिद्यः प्रदर्शन
काठमाडौं, ११ भदौ । गुंला पर्वका अवसरमा उपत्यकाका विभिन्न बहाल बहीहरूमा गरिने बहिद्यः प्रदर्शन आजदेखि शुरु हुँदैछ । यो पर्वलाई स्थानीय नेपालभाषामा ‘बहिद्यः ब्वयेगु’ भनिन्छ । उपत्यकामा एक महिनासम्म मनाइने गुंला पर्व भित्रै पर्ने यो एउटा महत्वपूर्ण पर्व हो ।
यसमा उपत्यकाका विभिन्न बौद्ध बहाल बहीहरूमा रहेका दिपंकर भगवानको मूर्तिलाई बाहिर प्राङ्गणमा राखी प्रदर्शन गरिन्छ । साथै विहारमा रहेका महत्वपूर्ण सामग्रीहरू जस्तो सुनको अक्षरले लेखिएका धार्मिक ग्रन्थ, स्वर्ण मूर्ति एवं चैत्य, बिलंपौ (एक प्रकारको कथानक पौभाः), ऐतिहासिक पौभाः चित्र आदि पनि यही बेला प्रदर्शन गरिन्छ ।
यस्तो बहिद्यः विशेष गरी त्यस्तो बहाल बहिलहरूमा मात्रै प्रदर्शन गरिन्छ जहाँ पहिले कुनै बेला सम्यक महादान पर्व मनाइ सकिएको छ ।
बहाल बहिलहरूमा बहिद्यः प्रदर्शन गर्ने चलन भए जस्तै समूह मिलाएर त्यसरी प्रदर्शन गरिएका बहिद्यः अवलोकन गर्न जाने चलन पनि रहेको छ । विभिन्न बहाल बही एवं टोलका सदस्यहरू समूह समूह बनाई बाजागाजा सहित स्तोत्र पाठ गर्दै बहिद्यः दर्शन गर्न जाने चलन छ ।
यसरी बहिद्यः अवलोकन गर्न जाँदा कुनै कुनै विहारमा केवल दिपंकर बुद्ध मात्र नभई अन्य रोचक वस्तुहरू पनि हेर्न पाइन्छ । जस्तो ताहाचल सँगै रहेको खुसिबहीमा ‘नये नकिं ज्या थकिं’ नामक काठ र माटोले बनाइएका दुई मूर्तिहरू हेर्न पाइन्छ । कतै भने आफ्ना पूर्खाले प्रयोग गरेका पुराना लुगाफाटो जस्ता वस्तुहरू पनि प्रदर्शन गरिन्छ ।
काठमाडौंमा बहिद्यः ब्वये गरिने खास दिन आज भए पनि ऐतिहासिक इतुम्बहालमा भने गत बुधवारदेखि नै प्रदर्शनी शुरु भइसकेको छ । इतुम्बहालमा दीपंकर बुद्धका साथै सुनको अक्षरले लेखिएको प्रज्ञा पारमिता ग्रन्थ, बौद्ध चैत्य, बाह्र वर्षे जात्रामा प्रयोग गरिने स्वर्णद्वार आदि जस्ता सामग्रीहरू प्रदर्शन गरिन्छ ।
ललितपुरका बहाल बहीहरू गत शनिवारदेखि यस्तो प्रदर्शनी शुरु भइसकेको छ । ललितपुरमा प्रत्येक वर्ष श्रावणशुक्ल दशमिदेखि भाद्रकृष्ण दशमिसम्म गरी १४ दिन प्रदर्शन गर्ने चलन रहेको छ ।
यस्तो बहिद्यः प्रदर्शन एवं दर्शन गर्ने पर्व भक्तपुर र ठिमीका बहाल बहीहरू पनि मनाउने गरिन्छ ।
पहिले पहिले यस्तो बहिद्यः प्रदर्शनी नौदेखि १५ दिनसम्म हुने चलन रहेको भए पनि अहिले भने चार पाँच दिन मात्रै प्रदर्शन गर्न थालिएको छ ।
यही बेला काठमाडौंकी लाय्कू कुमारीलाई पनि सानो खटमा राखी बहिद्यः दर्शन गराउन लाने चलन रहेको छ । श्री कुमारीलाई बहिद्यः दर्शन गराउन लाँदा कुमारी घरबाट सबैभन्दा पहिले इतुम्बहाल लाने र त्यसपछि ठमेलको भगवान बहाल, ज्याठाको छुस्या बहाल, मुस्या बहाल, जन बहाल (सेतो मत्स्येन्द्रनाथ) हुँदै पुनः कुमारी घरमै पुगे पछि समापन गरिन्छ ।
आउँदो शनिवार अपरान्ह ३ बजे श्री कुमारीलाई बहिद्यः दर्शनको लागि लाने कार्यक्रम रहेको छ ।
पहिले पहिले काठमाडौंमा बहिद्यः दर्शन र प्रदर्शन अत्यन्त धुमधामपूर्वक गर्ने चलन थियो । अहिले भने धेरैजसो बहाल बहीहरूमा बहिद्यः प्रदर्शन नै बन्द भइसकेका छ । दर्शनका लागि जाने श्रद्धालुहरूको लर्को पनि पहिले जस्तो उत्साहजनक रहेको पाइँदैन ।
अहिले काठमाडौंमा लगन टोलको लगं बहाल, तःननी, बुद्धवारी, हिउमतको क्वंचाल बहाल, कोहिटी बहाल, ताहाचलको खुसिबही, लाय्कूबही, यट्खा बहाल, इतुम्बहाल, थाय्मरु बहाल, नःघल, सीघल, ज्याठाको छुस्या बहाल, ठमेलको भगवान बहाल, असनको असं बहाल, वटुको चीधं बहाल, जनबहाल, ओम बहालको नःबही र लगनको न्हायकं बहीमा बहिद्यः प्रदर्शन गर्ने र दर्शन गर्न जाने चलन रहेको छ ।
स्थानीय संस्कृतिविद्हरूका अनुसार हरेक साल गरिने यो बहिद्यः ब्वये (प्रदर्शन) भनेको एक प्रकारको ‘पब्लिक अडिट’ पनि हो । सम्बन्धित बहाल बहीमा राखिएका मूर्ति एवं अन्य महत्वपूर्ण सामग्रीहरू दुरुस्त राखिएको छ वा छैन भनी सार्वजनिक रुपमा देखाउने र सार्वजनिक रुपले नै त्यसको अवलोकन गर्ने सांस्कृतिक चलनको रुपमा यो परम्परा चलाएको उहाँहरूको कथन छ ।