तलेजुमा चाँगुनारायणको कलश यात्रा

काठमाडौं, १२ भदौ । काठमाडौंको तलेजु मन्दिरमा हिजो चाँगुनारायणको कलश यात्रा भित्र्याइयो । हरेक वर्ष गुंपुन्हि (जनै पूर्णिमा) को चार दिन अघि काठमाडौंको तलेजु मन्दिरमा चाँगुनारायणको कलश यात्रा चलाउने परम्परा रहेको छ ।
उपत्यकामा गुंपुन्हिका दिन क्वाँटी (क्वाति) खाने गरिन्छ । विभिन्न नौ प्रकारका गेडागुडी एकै ठाउँ राखेर पकाइने क्वाँटी खानाले शरीरलाई पोषक तत्व प्राप्त हुन्छ । गुंपुन्हिका लागि चाँगुनारायणलाई तलेजुबाट क्वाँटी प्रदान गर्नुपर्ने चलन छ । तलेजुबाट सोही क्वाँटी ग्रहण गर्न चाँगुनारायणको कलश यात्रा तलेजु आएको भन्ने मान्यता रहेको छ ।
हिजो चाँगुनारायणलाई क्वाँटी प्रदान गरिसकेपछि काठमाडौंवासीले हिजैदेखि क्वाँटी भिजाएर राख्ने चलन छ । हिजोदेखि भिजाएको क्वाँटीमा चार दिनपछि टुसा पलाउन थाल्छ र गुंपुन्हिका दिन त्यही टुसा सहितको क्वाँटी पकाएर खाने गरिन्छ । तर अहिले भने चार दिन अघिदेखि क्वाँटी भिजाएर राख्ने चलन हराइसकेको छ ।
यो यात्रामा चाँगुनारायणलाई कलशमा राखी तलेजु मन्दिरसम्म ल्याउने गरिन्छ । तलेजु पुग्नु अघि जमलस्थित चाँगुनारायणको सत्तलमा केही छिन रोकिन्छ । त्यसपछि हनुमानढोकाबाट गएको नेपाली सेनाको गर्जुको पल्टनले चाँगुको कलशलाई स्वागत गरी हनुमानढोकासम्म लिएर आउँछ ।
हनुमानढोका बाहिर चाँगुनारायणका नाममा एउटा पूजा गरिन्छ । उक्त पूजामा बसन्तपुरको कुमारी घरमा बस्नुहुने जीवित देवी श्री कुमारीलाई पनि साक्षीका रुपमा राख्नुपर्ने चलन छ ।
पूजा सकेपछि गुर्जुको पल्टनले बन्दूक पड्काई बढाइँ गर्छ । बढाइँ पछि कुमारीलाई फर्काइन्छ भने कलशलाई हनुमानढोका भित्र प्रवेश गराइन्छ । हनुमानढोका भित्र तलेजुको मन्दिर सामुन्ने रहेको मण्डपमा चाँगुको कशल बिसाई फेरि अर्को पूजा गरिन्छ ।
त्यो पूजा सकेपछि कलश उठाएर राष्ट्रप्रमुखका रुपमा रहनुभएका राष्ट्रपतिलाई दर्शन गराउन लाने गरिन्छ । पहिले पहिले चाँगुको कलश दर्शन राजालाई गराउने चलन थियो । राष्ट्रप्रमुखबाट दर्शन गरिसकेपछि कशल पुनः चाँगु नै फर्काइन्छ ।
चाँगुको कलश राजोपाध्याय पुजारीले हातैले बोकेर ल्याउने गरिन्छ । कलश ल्याउँदा चाँगुदेखि तलेजुसम्म पैदलै आउनुपर्छ भन्ने चलन छ ।
काठमाडौंको हनुमानढोकामा वर्षको दुई पटक चाँगुनारायणको यात्रा चलाउने परम्परा रहेको छ । अब अर्को यात्रा स्वस्थानी व्रत आरम्भ हुने पूर्णिमाका दिन गरिन्छ । उक्त दिन चाँगुनारायणलाई फर्किन नदिनका लागि हनुमानढोकाको बाटो बाटोमा माटाका भाँडाकुँडाहरू फुटाएर फाल्ने अनौठो चलन पनि छ ।