नेपालको बझाङमा गएको भूकम्पले भारतको सिक्किममा बाढी आएको अनुमान

काठमाडौं, १८ असोज । भारतीय राज्य सिक्किममा बुधवार आएको भयानक बाढीको सम्बन्ध कतै नेपालको बझाङमा गएको भूकम्पसँग त छैन ?
भारतीय वैज्ञानिकहरू अहिले यसको खोजीमा लागिरहेका छन् ।

बुधवार दिउँसो उत्तरी सिक्किमको ल्होनाक ताल फुटेर टिस्टा नदीमा आएको ठूलो बाढीले सिक्किममा ठूलो तबाही मच्चाएको छ ।

यसमा परी ज्यान गुमाएका छ जना मानिसको लाश फेला परिसकेको छ भने भारतीय सेनाका २३ जवान लगायत अन्य दर्जनौं मानिस हराइरहेका छन् । यसमा कतिपय सिक्किम घुम्न आएका विदेशी पर्यटक पनि हुन सक्ने अनुमान गरिएको छ ।

टिस्टा नदीको बाढीले सिक्किमको धेरै सडक, पुल र जलविद्युत परियोजनाहरू ध्वस्त बनाएको छ । नदीको बहावले धेरै घर बगाएका छन् भने यसले गर्दा करिब १५ हजार मानिस घरबारविहिन भएका छन् ।

धेरै ठाउँमा सडक बगाएका कारण अहिले सिक्किम भारतको मुख्य भूमिसँगै सम्बन्ध विच्छेदको अवस्थामा पुगेको छ । सिक्किमबाट सिलगुडी, नेपाल र बंगलादेश जाने राजमार्गहरू पूरै बगाएको छ । मुख्य मुख्य पुलहरू बगाएका कारण सिक्किमका धेरै भूभागहरू बीच एक आपसका सम्पर्क पनि अहिले टुटेको छ ।

टिस्टा नदीमा आएको बाढीले नदीको वहाव १५ फिटभन्दा माथि उठेको बताइएको छ । पानी अझै परिरहेका कारण सरकारले उद्धार कार्य पनि अघि बढाउन सकिरहेको छैन । नदीमा डुंगा समेत चलाउन सकिने अवस्था छैन । सिक्किमका बाढी प्रभावित क्षेत्रमा स्कुलहरू अनिश्चितकालका लागि बन्द गरिसकेको छ ।

बाढीबाट सिक्किमको सिंगताम, लाचेन आदि क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ ।

सिक्किममा अचानक यस्तो बाढी आउनुको कारण उत्तरी सिक्किमको ल्होनक ताल फुट्नु हुन सक्ने बताइएको छ । भारी वर्षाका बीच अचानक बादल फाटेर उक्त ताल फुटेको अनुमान गरिएको छ ।

ताल फुट्ने बित्तिकै त्यहाँ जम्मा भएको सबै पानी एकैचोटी ह्वात्त बाहिर निस्केको थियो । यसरी भारी मात्रामा बगेर आएको पानीले त्यसैको केही किलोमिटर तल रहेको चुङथाङ जलविद्युत परियोजनाको डायमलाई क्षति पुर्याएको देखिन्छ । त्यसपछि डायम पनि फुटेर त्यहाँको पानीले खोलामा बाढी आएको अनुमान गरिएको छ ।

भारतको अंग्रेजी दैनिक ‘टाइम्स अफ इण्डिया’ को अनलाइन संस्करणमा प्रकाशित एक समाचारका अनुसार भारतीय वैज्ञानिकहरूले ल्होनक ताल फुट्नुको कारणलाई नेपालको बझाङ जिल्लामा आएको भूकम्पसँग जोड्न खोजिरहेको छ । मंगलवार बझाङलाई केन्द्र बिन्दू बनाएर नेपालमा भूकम्प गएको थियो । त्यसको कम्पन भारतमा समेत भएको थियो । त्यही भूकम्पको कम्पनले ल्होनक तालमा चिरा पारेको र त्यसपछि ताल फुटेको अनुमान गरिएको छ ।

भारतको सेन्टर वाटर कमिशनका पदाधिकारीहरूले केवल बादल मात्र फाटेर त्यत्रो ताल फुट्न नसक्ने बताएका छन् । यसको कारण एक दिन अघि मात्रै नेपालमा गएको भूकम्प र त्यसपछि आएको दर्जनौं पराकम्पहरू हुन सक्ने अनुमान पनि उनीहरूले गरेका छन् ।