कांग्रेसका ९ सांसदले विद्रोह गरेपछि कोशी राजनीतिमा नयाँ मोड, गठबन्धनमा किचलो

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसको एउटा समूहले संस्थापनसँग विद्रोह गर्दै नेकपा (एमाले)सँगको सहकार्यमा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कोशी प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ । नेपाली कांग्रेसका तर्फबाट विजयी प्रदेश सांसद केदार कार्कीले एमालेको समर्थनमा आफ्नो पक्षमा ४८ सांसद पुगेको भन्दै मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको छ ।

उता संविधानको धारा १६८ (५) अन्तर्गत रहेर सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता नेता इन्द्रबहादुर आङवोले पनि मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको छ । उहाँले कांग्रेसका २९, माओवादीका १३, एकिकृत समाजवादीका ३ र जसपाका १ प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाउनु भएको हो । कार्कीले पनि आफ्नो पक्षमा ४८ सांसद पुगेको दाबी पेश गरेपछि राजनीतिले नयाँ मोड लिएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिने उदयपुरका हिमाल कार्कीले समेत अन्तिम समयमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि गठबन्धनमा थप संकट परेको हो । हिमाल कार्कीले आजनै संसदीय दलको उपनेताबाट राजीनामा दिनुभएको थियो ।

केदार कार्कीलाई एमालेका ३९ र नेपाली कांग्रेसका ९ सांसदको समर्थन छ । कोशीमा बहुमतका लागि ४७ सांसद चाहिन्छ । कांग्रेसले माओवादीका इन्द्र आङवोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि विद्रोह गरेको कांग्रेसका सांसदहरुको भनाई छ । कार्कीलाई मुख्यमन्त्री बनाउन उदयपुरका रामकुमार खत्री र हिमाल कार्की, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गर्नुभएको छ ।

 कार्कीलाई समर्थन गरेका सांसदहरुले कसैले आफ्नो हस्ताक्षर पेश गरेको भए त्यो झुटो भएको बताउँदै आएका छन् । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाले दाबी पेश गरेपछि प्रदेश प्रमुखले पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि समय लिनुभएको छ । उहाँले परामर्शका लागि समय लाग्ने भन्दै आज मुख्यमन्त्री नियुक्त नगर्ने निर्णय गर्नुभएको हो । उहाँले संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनका लागि दिएको समय सीमा भोलिसम्म रहेको छ ।