मनाङमा छ महिनामा नौ हजारभन्दा बढी पर्यटक
मनाङ, १६ कात्तिक । हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ ।
यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ ।
यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास दवै क्षेत्रको भ्रमण गर्ने गरेका एक्यापका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । उहाँका अनुसार आन्तरिक तथा बाह्य गरी नौ दुई सय २८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् भने पाँच सय २८ पर्यटकले नार्पाभूमिस्थित लार्केपास गरेका छन् । यस क्षेत्रबाट गोरखाको चुङनुम्री हुँदै पर्यटक गन्तव्यतर्फ निस्कने गर्दछन् ।
असोज मसान्तसम्ममा मात्रै चार हजार तीन सय ५७ बाह्य पर्यटक भित्रिएका छन् । भुजेलका अनुसार वैशाखमा तीन हजार दुई सय ६६, जेठमा छ सय ६१, असारमा दुई सय ५९, साउनमा दुई सय ९६, भदौमा नौ सय १३ बाह्य पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ । गतवर्षको साउनदेखि मङ्सिरसम्ममा एक हजार ७२ पर्यटक भित्रिएका उहाँले जानकारी दिनुभयो ।
गत वर्षको तुलनामा यसवर्ष उल्लेख्य रुपमा पर्यटक वृद्धि भएको प्रमुख भुजेलले बताउनुभयो । “यहाँको मुख्य आयस्रोत नै पर्यटन क्षेत्र हो । पर्यटकको आगमन बिना यहाँको राजस्वसमेत उठ्न मुस्किल हुन्छ । यसले नै यहाँका स्थानीयवासीलाई यही बस्ने वातावरण बनाएको छ”, उहाँले भन्नुभयो । यहाँका स्थानीयवासी होटल तथा पर्यटन व्यवसायसँगै कृषि क्षेत्रमा आवद्ध रहेका छन् ।
आयातित वस्तुभन्दा यहीँ उत्पादित खाद्यवस्तु पर्यटकलाई उपलब्ध गराउने गरेका पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । “सिजनमा यसवर्ष उल्लेख्य पर्यटकको आगमन भएको छ । यसले व्यावसायिकलाई उत्साह थपेको छ”, उहाँले भन्नुभयो, “आजभोलि आन्तरिक पर्यटकको आगमन पनि वृद्धि भएको छ ।”
बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको पनि उल्लेख्य आगमन भएको गुरुङको भनाइ थियो । अहिलेको मौसममा अलिअलि हिमपात, सेता हिमाल टल्कने, डाँडापाखामा नै हिउँ देखिँदा पर्यटकलाई लोभ्याउने गर्दछ । अहिले नेपालीहरु घुम्ने, नयाँ पर्यटकीय गन्तव्यमा पुग्ने गर्न थालेकाले मनाङ आउने आन्तरिक पर्यटक पनि बढे्का गुरुङले बताउनुभयो ।
आन्तरिक पर्यटकको तथ्याङ्क नराखिए पनि दैनिक रुपमा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको एक्यापका प्रमुख भुजेलले जानकारी दिनुभयो ।