सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
काठमाडौं, ४ मंसिर । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ ।
न्यायाधीश चुडालले संयुक्त इजलासमा परेका मुद्दा पनि हेर्नुपर्ने भएपछि आज टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको हो ।
सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।
सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध दर्जन बढी रिट परेका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
कात्तिक २७ गते सरकारले समाजमा नकारात्मक असर पारेको भन्दै टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।