गोरखाकाे बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती
गोरखा, ५ मंसिर । गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरु गरिएको छ ।
स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गर्नुभएको हो ।
अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा लिएर खेती गर्न थालेको उहाँले बताउनुभयो । वार्षिकरूपमा रु एक लाख ५० हजारमा भाडामा लिएर खनजोत गरी अहिलेसम्म ७५ हजारभन्दा बढी अकबरे खुर्सानीको बेर्ना लगाइसकेको उहाँको भनाइ छ ।
यसका लागि उहाँले कालिका कृषक समूह फार्म दर्ता समेत गर्नुभएको छ । “अहिले करिब ४० रोपनी जमिनमा बेर्ना लगाइसकिएको छ, आफैले नसर्रीमा उत्पादन गरेको बेर्ना लगाएको छु, अझै करिब ६३ रोपनीभन्दा बढी बाँकी जमिनमा रोप्नका लागि बेर्ना तयारी अवस्थामा छ”, उहाँले भन्नुभयो ।
करिब रु चार लाख लगानीमा सुरु गरेको अकबरे खुर्सानी खेतीबाट वार्षिक रु ३७ लाखभन्दा बढी आम्दानी हुने अनुमान रहेको उहाँले बताउनुभयो । “बेर्ना लगाएको पाँच महिनामा खुर्सानीको राम्रो उत्पादन सुरु हुन्छ”, उहाँले भन्नुभयो, “उत्पादन सुरु भएपछि एउटै बोटले तीन वर्ष राम्रोसँग उत्पादन दिन्छ ।” उहाँले चार जनालाई फार्ममा रोजगारीसमेत दिनुभएको छ ।
उत्पादित खुर्सानी बिक्रीका लागि बजारमा कुनै समस्या नभएको उहाँले बताउनुभयो । “प्रतिकिलो बजारमा न्यूनतम रु दुई सय ५० मा सजिलै बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “रातोमाटोमा उत्पादन हुने खुर्सानीको अरु माटोमा उत्पादन हुनेभन्दा अझ बढी स्वादिष्ट र पिरो हुने भएकाले पनि बजारमा यस क्षेत्रमा उत्पादन हुने अकबरे खुर्सानीको राम्रो माग छ ।”