बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेका युवकको मृत्यु

जनकपुरधाम । बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया रहेका छन् । बाराका प्रमुख जिल्ला अधिकारीका अनुसार नारायणी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हाे ।

मेयर किशोरी साह कलवारले नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउन लिएर जाने क्रममा बा २ झ ४३५४ नम्बरको गाडीमा एक समूहले तोडफोड गरेपछि झडप भएको थियो ।

झडपमा मेयर साह र आन्दोलनकारी दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन् । प्रजिअ मैनालीका अनुसार १० जना प्रहरी पनि घाइते भएका छन् ।