शेयर कारोबार ११ महिना यताकै उच्च, लघुवित्तमा लगानीकर्ताहरुको आकर्षण

शेयर कारोबार ११ महिना यताकै उच्च, लघुवित्तमा लगानीकर्ताहरुको आकर्षण

काठमाडाैं, २ पुस । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको पहिलो कारोबार दिनदेखि उकालो लाग्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिनको बजारमा लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्य यस दिन उच्च दरमा बढेको छ ।

यस दिन ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये ५ लघुवित्त कम्पनी रहेका छन्।

सोमबार नेप्से परिसूचक ३८.१४ अंक घटेर २०६०.४९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ९.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०९ अंक बढेको छ।

यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। यस दिन ३०५ स्टकको १ लाख १३ हजार ६९३ पटकको कारोबारमा ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको २ करोड १४ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम पछिल्लो ११ महिना यताकै उच्च हो। यस अघि २०७९ पुस २६ गते ७ अर्बभन्दा बढीको कारोबार भएको थियो।

कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ५.५३ प्रतिशत बढेको छ।