बेलौरी छोटी भन्सार कार्यालय पुनः सञ्चालन
कञ्चनपुर, ४ पुस । बेलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याइएको छ । त्रिनगर भन्सार कार्यालय धनगढीबाट नायब सुब्बा ज्ञानेन्द्र खत्रीको नेतृत्वमा चारजना कर्मचारीलाई कार्यालय सञ्चालनका लागि खटाइएको छ ।
गड्डाचौकी भन्सार कार्यालय मातहतमा हुँदा भन्सार कार्यालय सञ्चालन हुँदै आए पनि २०७५ साल साउन २५ गते त्रिनगर भन्सार कार्यालय मातहतमा राखिएर केही महिना सञ्चालन भएको भन्सार कार्यालय बन्द भएको थियो ।
उहाँले भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउनका लागि निकै पहल गर्नु परेको बताउनुभयो । “छोटी भन्सार कार्यालयका कर्मचारी बस्ने आवासमा विद्युत्को लाइन काटिएको थियो, त्यो तत्कालै सुचारु गर्न लगाएका छौँ,” उहाँले भन्नुभयो, “खटिएर आएका कर्मचारी कार्यालय व्यवस्थापनको कार्यमा लाग्नुभएको छ, कुनै पनि कुराको अप्ठेरो परे नगरपालिकामा सम्पर्क गर्न भनेका छौँ, कर्मचारीलाई टिकाउन आवश्यक सहयोग गर्छौं ।”
भारततर्फका व्यापारीहरुले पुनः भन्सार कार्यालय सञ्चालनमा आएपछि खुशी व्यक्त गर्दै भारततर्फ पनि भन्सार कार्यालयको व्यवस्थाका लागि पहल गर्ने अश्वासन दिएका छन् । भारततर्फबाट खाद्यान्न, लत्ताकपडालगायत सामान भन्सार भएर आउने गरेका छन् ।
भारतबाट आउने खाद्यान्न गुणस्तरयुक्त छ, छैन भन्नेबारे परीक्षण गर्नका लागि खाद्य ‘क्वारेन्टिइन’ कार्यालयको व्यवस्थाका लागि पनि पहल हुनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ । भन्सार कार्यालय पुनः सञ्चालनमा आएपछि राजस्व चुहावटको कार्य रोकिने बताइएको छ । भन्सार कार्यालयमा खटिएर आएका नायब सुब्बा खत्रीले अबदेखि नियमित रुपमा भन्सारको कार्य सञ्चालन हुने बताउनुभयो ।
विगत जस्तै राजस्व सङ्कलनको कार्य नियमित रुपमा हुने उहाँको भनाइ रहेको छ । भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय यसअघि नै राखिएको छ ।