नेप्से परिसूचकमा १२.१० अङ्कको गिरावट, कारोबार २७ महिना यताकै उच्च
काठमाडाैं, ३ माघ । बुधबार नेप्सेमा तिब्र उतारचढाव देखिएको छ। सुरुवाती समयमा बढेर २२०० माथि पुगेको नेप्से सूचक अन्तिममा नकारात्मक भएर बन्द भएको हाे।
बुधबार नेप्से सूचक १२.१० अंकले घटेर २१६३.०६ विन्दुमा झरेको छ। कारोबार समयमा नेप्से सूचक २२१५ विन्दुसम्म पुगेको भए पनि बिक्री चाप बढ्दा सूचक टिक्न सकेन।
बुधबार कारोबार रकम पनि बढेको छ। मंगलबार ८ अर्ब २ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ९ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यो कारोबार रकम २७ महिना यताकै उच्च हो।
यसअघि २०२१ सेप्टेम्बर ६ मा ९ अर्ब ८२ करोड रुपैयाँको शेयर कारोबार भएको थियो। सो पश्चात बुधबार सबैभन्दा धेरै कारोबार भएको हो।
यस दिन कारोबारमा आएका १३ उपसमूहका ४ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.५१ प्रतिशतले घटेको छ।
यस दिन ग्लोबल आइएमई लघुवित्त, नेपाल वेरहाउजिङ कम्पनी र हिमालयन रि इन्सयोरेन्स कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस्तै इष्ट्रन हाइड्रोपावर, भुगोल इनर्जी र मुक्तिनाथ कृषि कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
बुधबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ६५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको ३३ करोड र सोनापुर मिनिरल्सको २९ करोड रुपैयाँको शेयर कारोबार भएको छ।