आइसिसी लिग-२ : नेदरल्याण्ड्ससँग आज नेपालले खेल्दै

काठमाडाैं, १३ फागुन । आइसिसी लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान सवा ९ बजे सुरू हुनेछ। आजको खेल यस सिरिजको अन्तिम खेल हो।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग-२ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ।

आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले मात्रै लिग-२ मा ३६ खेल खेल्नेछ। ती मध्ये जारी सिरिजमा आजको सहित ४ खेल खेलिसक्दा अब २०२७ सम्म हुने विभिन्न सिरिजहरूका ३२ खेल खेल्नेछ।

पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित र दुई हार ब्यहोरेको छ। नेपाल नामिबियासँग भएको दुबै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सविरूद्ध भने ९ विकेटको सानदार जित निकालेको थियो।

नेपालविरूद्ध २ र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। एक जित निकालेको नेपाल र नेदरल्याण्ड्स २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।

नेपालको टिममा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *