१२ मिनेट लामो ओलीको सम्वोधनः भताभुङ्ग भएको देशको अवस्था फर्काउनेमा आशावादी छु
काठमाडौंँ, २१ फागुन । औपचारिक कार्यक्रममा निकै लामो भाषण गर्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको परिचित शैली नै हो । तर, आज जिफन्टले नेपालमा ट्रेड यूनियन आन्दोलन सुरू भएको ७७ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रमलाई ओलीले निकै छोटो सम्वोधन गर्नूभयो । उहाँले सम्वोधनका क्रममा जिफन्टले खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।
त्यति मात्रै होइन उहाँले देशको राजनीति छिटोछिटो परिवर्तन हुँदा आफू त्यसैमा जेलिएकाले कार्यक्रममा पनि निर्धारित समय भन्दा केही ढिला उपस्थित भएको भन्दै सम्वोधकै विचमा पछिल्लो बदलिदोँ राजनीतिबारे संकेत गर्नुभयो । उहाँले सम्वोधनको अन्तिममा पनि घरिघरि मोवाईल हेर्दे गर्नु भन्दै आजको दिनमा राजनीतिक परिवर्तनमा नयाँनयाँ श्रृंखला देखिने सन्देश दिनुभयो ।
नयाँ सत्ता गठबन्धनका दलहरुबीच आजै मन्त्रालय भागबण्डा टुंगो लगाउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दै छ । त्यसका लागि हतारमा रहनु भएका ओली छोटो सम्वोधन गरेर बालुवाटारतर्फ लाग्नुभएको छ ।
ओलीले गरेको सम्वोधनको सम्पादित अंश
सिङ्गो समाजमा परिवर्तन ल्याउनका लागि जिफन्टको मुमेन्ट आवश्यक छ । यो भनेको तल्लो तहको मुमेन्ट हो, यसले मजदुर वर्गका लागि काम गर्छ । त्यसकारण यस मुमेन्टले गर्ने सामाजिक सौदावाजी र त्यसलाई सफलतामा पुर्याउने कुराले सिङ्गो समाज र अग्रगमनका लागि असाधारण योगदान गरेको हुन्छ ।
मैले विश्वास लिएको छु । आगामी दिनमा जिफन्टले अरु धेरै महत्वपूर्ण र उल्लेख्य माइलस्टोनका रुपमा रहने काम गर्दै जानेछ । कहिलेकहिले एउटा उपलब्धि पार गर्दा सबै उपलब्धि पार गरियो भन्ने लाग्छ । तर, अरु उपलब्धि हाँसिल गर्न बाँकी नै रहेको हुन्छ । किनभने हाम्रो समाजमा असमानता, विभेद, अभाव गरिबी अझै कायम नै छ । अझै पनि सम्मानजनक काम, उचित जीवन निर्वाह हुने गरिको पारिश्रमिक अनि सुरक्षित कार्यस्थललगायतका माग अझै पनि निरन्तर राख्नुपर्ने र तीनिहरुलाई व्यवहारमा सफल बनाउनुपनै आवश्यक छ । यसका लागि जिफन्ट सफल हुन्छ भन्ने मैले ठानेको छु ।
तपाईँहरुको आन्दोलन व्यवस्था फेरियो अवस्था फेरिएन भन्ने अवस्था होइन । तपाईँहरुले अवस्थामा फेरवदल ल्याउनु भएको छ । अब अझै राम्रो अवस्थाका लागि काम गर्नुपर्ने छ । राजनीति मात्रै फेरियो होइन । अरुअरु कुरामा पनि फेरिएको छ । पहिला समान कामको समान ज्याला हुन्थ्यो र ? बालश्रमलाई गैरकानुनी भनेर पहिला पनि घोषणा गरिएको थियो त ? अनि महिलाहरुले कार्यस्थलमा सुरक्षित रहने अवस्था पहिला पनि हुन्थ्यो र ? त्यस्ता कुराको प्रवन्ध कानुनी हिसावले थियो र ? यस्ता थुप्रै कुरामा तपाईँहरुले सुधार गर्नुभएको छ ।
अब तपाईँहरु कानुन निर्माणमा, कानुन कार्यान्वयनमा, कानुन अन्तर्रगत नियमावली बनाउने कुरामा अनि तिनीहरुको कार्यान्वयन गर्ने कुरामा तपाईँहरु एउटा स्टेकहोल्डरको रुपमा आफूलाई प्रूस्तुत गर्नुभएको छ र त्यसमा सफलता पनि प्राप्त गर्नुभएको छ । यो सफलताको झण्डा माथि उठाउनुहोस् र अघि बढाउनुहोस् त्यहि शुभकामना भन्न चाहन्छु ।
यहाँहरुलाई थाहै छ । आजको दिनचाँहि अलिक छिटोछिटो हिँड्न खोजेको जस्तो लागेको छ । त्यसो भएकाले म यहाँ आउन पनि ढिला भयो । देशको परिस्थिति छिटोछिटो हिँड्न खोजेकाले म यहाँ आउन पनि ढिलाढिला भयो ।
देशमा परिवर्तन आवश्यक छ, परिवर्तन हुनुपर्छ । परिवर्तन हुन्छ र जेसुकै परिवर्तन भए पनि हामी मिशन–८४ छाड्दैनौँ । राष्ट्रिय शक्ति अथवा नेकपा (एमाले) लाई निर्णायक शक्तिका रुपमा परिणत गर्ने हाम्रो उदेश्य जुन हो, त्यसलाई छाड्दैनौँ । मिशन–८४ भनेको चुनावमा बहुमत ल्याउने मात्रै कुरा होइन । त्यो भन्दा माथिको कुरा छ यो । राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्ने हो । त्यसैका साथ मिशन–८४ भनेको हो । त्यो मापन केबाट हुन्छ भन्दा निर्वाचनबाट हुन्छ । मापन हुने मात्रै निर्वाचन हो । यथार्थ मात्रै हो निर्वाचन । कति भोट ? कति सिट ? भन्ने मात्रै हो निर्वाचन । त्यसले राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको संवद्र्धन, सुशासन, विकास आदिको पक्षमा त्यसले लिएर जानसक्छ ।
जनपक्षीय शक्ति, जनशक्ति निर्णायक भयो भने राष्ट्रिय शक्ति निर्णायक भयो भने प्रगति चाहने शक्ति निर्णायक भयो भने संवृद्धि हाँसिल हुन्छ । यथास्थितिवादी र प्रतिगामी शक्ति निर्णायक हुँदै गए भने प्रतिगमन हुन्छ ।
जनपक्षीय शक्ति, जनशक्ति निर्णायक भयो भने राष्ट्रिय शक्ति निर्णायक भयो भने प्रगति चाहने शक्ति निर्णायक भयो भने संवृद्धि हाँसिल हुन्छ । यथास्थितिवादी र प्रतिगामी शक्ति निर्णायक हुँदै गए भने प्रतिगमन हुन्छ ।
दुनियाँमा हाम्रा भन्दा अप्ठ्यारा–अप्ठ्यारा भौगोलिक अवस्था भएका मुलुकहरु किन अघि बढे ? मरुभूमिका देश अघि बढे किन ? हामी किन अघि बढ्न सकेनौँ ? न्युजिल्याण्डको अहिले पनि मुख्य स्रोत कृषि नै हो । उसले कृषि उपजलाई निर्यात गरेर ठूलो आन्दामी गरेको छ । तर, यस्तो उर्वर देश जहाँ जलस्रोत छ । माटो उर्वर छ । जहाँ धेरै प्रकारका संभावनाहरु छन् । यहाँ मौसमको विविधता छ । उच्च भूभाग हिमाली भेग यहाँ छ । पहाडी भूभाग यहाँ छ । यहाँ भावर छ । यहाँ तराई छ । यसबाट हामीले विभिन्न प्रकारका लाभ लिन सक्छौँ । जडिवुटीदेखि फलफुसम्म यहाँ छ ।
अन्नवाली यही छ । ६० प्रतिशत अर्थात करीब १ करोड ८० लाख जनता जनता कृषिमा आश्रित छन् । कृषिको आधुनिकीकरणसँगै औधिगिकरणमा पनि हामी जान सक्छौँ । हामीले निर्वाहमूखी कृषिलाई व्यवसायिकमुखी कृषिमा लैजान सक्ने आधारहरु पनि प्रसस्त छन् । त्यसका लागि तालिमलगायतको आवश्यकता छ । हामीले कम्तीमा एक वर्षमा ५ लाखलाई प्रशिक्षित गर्यौ भने उनीहरुले नयाँ ढंगले कृषि गर्न सक्छन् । त्यसका लागि पूर्वाधारको विकासलगायतमा पनि ध्यान दिन जरुरी छ ।
हामीले केही वर्ष प्राथमिकता दिएर त्यसमा लगानी गर्ने हो भने त्यो लहरले औधोगिक क्षेत्रतिर, व्यापारिक क्षेत्रतिर लैजान्छ । त्यसले नयाँ उद्यमशीलताको विकास हुन्छ ।
अहिले युवाहरु रोजगारी खोजेकार हिँडेका छन् । हामीले त्यसमा ध्यान दिने हो भने ती युवाहरु आफू त उद्यमशील बन्छन् नै उनीहरुले अरुलाई पनि रोजगारीको अवसर सिर्जना गर्नेछन् ।
आजको छिटोछिटो परिवर्तन हुन खोजको राजनीति कत्तिको प्रभावकारी हुन्छ र अघि बढ्छ । देशको अवस्था अहिले भताभुङ्ग रुपमा बिग्रिएको छ । त्यस अवस्थालाई आंशिक रुपमा भए पनि सकारात्मकबाटो तर्फ फर्काउन सकिन्छ भन्ने मैले विश्वास लिएको छु । आज पक्कै केही परिवर्तन हुन्छ भन्ने पनि मैले विश्वास लिएको छु ।
तपाईँहरुले घरिघरि मोवाइलमा हेर्दै गनुभए हुन्छ, छिनछिनमा के–के परिवर्तन हुन्छन् भनेर ।