शेयर बजारमा ७० दशमलव ३१ अङ्ककाे पहिराे

काठमाडौँ, २२ फागुन । हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ ।

मंगलबार नेप्से परिसूचक ७०.३१ अंक घटेर २००७.६९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ११.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंक घटेको छ। यस दिन ३१६ स्टकको ६९ हजार २०८ पटकको कारोबारमा ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु) र जोशी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन बोटलर्स नेपाल (तराई) को शेयरमूल्य करिब साढे ९ प्रतिशत घटेको छ भने प्रभु इन्स्योरेन्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको साढे २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने घोराही सिमेन्टको कारोबार रकम १४ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको हो। कारोबारमा आएको अन्य उपसमूह्को परिसूचक सर्वाधिक ४.३५ प्रतिशत घटेको छ।