गरी खाने शिक्षा, महानगरपालिकाको इच्छाः उपप्रमुख डंगोल

काठमाडौं, २८ चैत । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराउने, यसबाट शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराएर वृत्ति विकाससँग जोड्नेलगायतका उदेश्यले काठमाडौँ महानगरपालिकाले ‘टिचर कलेज कार्यक्रम’ सुरु गरेको छ । काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा यो कार्यक्रमको सुरु गरेको हो ।

शिक्षकहरुको क्षमता र वृत्ति विकास हुने भएपछि शैक्षिक क्रियाकलापहरु सिर्जनात्मक, एकीकृत, सीप र व्यवहारमा आधारित हुने महानगरपालिकाको भनाई छ । यसको नतिजा विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र र व्यवहारिक सिपमा प्राप्त हुने पनि महानगरपालिकाले उदेश्य लिएको छ । ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ को लक्ष्य प्राप्तिका लागि यस्तो कार्यक्रम सुरु गरेको उप्रप्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो । कार्यक्रम शुभारम्भका सन्दर्भमा पनि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख डंगोलले यस अघि सबैका लागि शिक्षा भन्दै आएको स्मरण गर्दै अब सबैका लागि गुणस्तरीय शिक्षा अभियान अघि बढाउने जानकारी दिनुभयो ।

‘यस वर्ष शैक्षिक सुधार पूर्वाधार, शिक्षण सामग्री, प्रविधि र उपकरणसहित कार्यक्रमका लागि करिब ३१ करोड रुपैयाँ बिनियोजन गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘यसमध्ये पुस्तकरहित शुक्रवार, शिक्षामा सीप, प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति, शिक्षण र सिकाइ पद्धतिसहितका कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई करिब २८ करोड रुपैयाँ रहेको पनि उहाँले जानकारी दिनुभयो ।

‘यी कार्यक्रमको साझेदार विश्वविद्यालयलाई २ करोड ९५ लाख रुपैयाँ प्रदान गर्दैछौँ,’ उहाँले भन्नुभयो, ‘शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय र शिक्षकहरुमा गरिएको यो लगानी सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र, सीप र आचरणबाट फिर्ता हुने अपेक्षा गरेका छौँ ।’ शैक्षिक क्षेत्रमा देखिएका कमजोरी सुधार गर्न गएको वर्ष शिक्षक र पूर्वाधार केन्द्रीत कार्यक्रम चलाएको भन्दै उहाँले यस वर्ष गएको वर्षका कार्यक्रमसँगै विद्यार्थी र शिक्षक केन्द्रीत कार्यक्रम थपेर चलाएको जानकारी दिनुभयो ।
‘शिक्षकहरुले पुस्तक पढाउने मात्र होइन, सिर्जनात्मक सिकाइ वातावरण मिलाउनु पर्छ । विद्यार्थी, विद्यालय र अभिभावकविच त्रिकोणात्मक मधुर सम्बन्ध स्थापना गर्नुपर्छ,’ डंगोलले भन्नुभयो, ‘हामीले हरेक शिक्षकलाई विज्ञका रुपमा विकसित भएको हेर्न चाहेका छौँ । आफ्नो विद्यालय, महानगरपालिकाभित्रका विद्यालय हुँदै यहाँहरुले देशकै शैक्षिक उन्नतिमा काम गर्नु पर्नेछ ।’

‘सामुदायिक विद्यालयको स्तर बढाउने काम शिक्षकहरुको काँधमा छ । यी शैक्षिक संस्थाहरुबाट उत्पादन भएका विद्यार्थीहरु सबै क्षेत्रमा प्रतिस्पर्धी र अब्बल हुनुपर्छ । यसका लागि आजदेखि नै काम थाल्नुहोला ।’ प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘हामीले उत्पादन गरेका विद्यार्थीहरु उनीहरुको सिपयुक्त क्षमताबाट चिनिनु पर्छ । यसका लागि महानगरपालिकाले गरेको खर्च विद्यालयले खेर जान दिनुहुँदैन । नतिजामा देखाउनु पर्छ ।’

स्नातक तह उत्तीर्ण शिक्षकले तालिमबाट २७ क्रेडिट पाएपछि पोष्ट ग्राजुएट डिप्लोमा र कुनै विषयमा स्नातकोत्तर उत्तीर्णलाई मास्टर इन एजुकेसन (एमएड) को प्रमाण प्राप्त दिइनेछ । कार्यक्रममा विश्वविद्यालयको स्कूल अफ एजुकेसनका डीन प्रा. बालचन्द्र लुइटेलले भन्नुभयो, ‘शिक्षकहरुबाट पीएचडी सम्म पुग्ने अवसर खोज्नु भएको छ । हामी पनि चाहन्छौँ, महानगरपालिकासँगको सहकार्यमा यसप्रकारको कार्यक्रम सञ्चालन गर्न सकियोस् ।’

तालिमको पहिलो चरणमा भाग लिनुभएका ३४ जनालाई कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको थियो । उहाँहरुले १ क्रेडिट पाउनु भएको छ । उहाँले स्टीम ‘(विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार)’ छात्रवृत्ति दिइएको छ । तालिममा ३९ जना सहभागी हुनुभएको थियो । सहभागीमध्ये ५ जनाले तोकिएको कार्य नबुझाउनुभएकोले प्रमाण पत्र प्रदान गरिएन ।

तालिममा प्राप्त गरेका अनुभव प्रस्तुत गर्दै मङ्गलादेवी मा. वि. की शिक्षिका मीना श्रेष्ठले भन्नुभयो, ‘पहिलो हामी विज्ञान छुट्टै पढाउँथ्यौँ । गणित छुट्टै पढाउँथ्यौँ । तालिमपछि थाहा भयो कि विज्ञान र गणितका कतिपय कक्षाहरु सह शिक्षण हुन सक्ने रहेछन् । यसमा शिक्षक सहकार्य चाहिने रहेछ । जस्तो कि, हवइ जहाज बिज्ञान, गणित र कला मिश्रित साधन हो । यसरी आपसमा जोडिएका विषयलाई अहिलेदेखि नै कक्षामा जोडेरै पढाउन सकिने रहेछ ।’