सभामुखले बोलाएको बैठक निष्कर्षविहिन, कांग्रेसको अडान कायमै

काठमाडौं, २५ वैशाख । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल निष्कर्ष विहिन टुङ्गिएकाे छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएपछि छलफल निष्कर्ष विहिन भएकाे हाे ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा आफूहरुले पुरानै अडान राखेको प्रमुख सचेतक रमेश लेखकले बताउनुभयाे ।

उहाँले भन्नुभयाे ‘हामीले संसदीय छानविन समितिको कुरा राखेको छौं। सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको छ । राजीनामा मागेका छैनौं, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौं। सरकारले समिति बनाउँछ भन्ने विश्वास राखेका छौं ।’

एमाले प्रमुख सचेतक महेश बर्तौलाले सहकारीको समग्र विषयमा संसदीय समिति बनाउने वा भएकै समितिबाट छानबिन गर्न सकिने निर्क्यौल नभएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘गृहमन्त्री लक्षितमात्र रहेर समितिको कुरा गरिरहुनुभएको छ, त्यो सम्भव छैन ।’‘पहिला गृहमन्त्रीलाई सुनौं, त्यसपछि के गर्ने भन्ने छलफल गरौंला ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *