गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव
गोरखा, २७ वैशाख । गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको तीन बज्न नपाउँदै खानेपानीका लागि एउटा जार र बोत्तल लिएर धारामा पुग्नुहुन्छ । विहान अलि ढिलो पुगे एक जार पानीका लागि घण्टाैं लाइन बस्नुपर्ने वाध्यता रहेकाले उहाँ सकभर राती नै खानेपानी ल्याउनका लागि धारा पुग्ने गर्नुभएको हो ।
‘‘रातको समयमा पुगेपनि कहिले त डेढ दुई घण्टा नै पालो नपर्खेसम्म पानी भर्न पाइँदैन, ढकालले भन्नुभयो, ‘‘कहिले त फर्कँदा उज्यालो नै हुन्छ ।’’ सुख्यायाम लागेसँगै खानेपानीको मुहान सुक्दै जाने र बजार क्षेत्रमा वितरण गरिएका लाइनको पानी समेत नियमित नआउँदा केही महिनादेखि गोरखा बजार क्षेत्रमा खानेपानीको चरम अभाव हुन थालेको हो ।
‘घरमा धारा छ, तर पानी कहिले आउँछ भन्ने कुनै टुङ्गो हुँदैन, गोरखा नगरपालिका–६ की स्थानीय गोमा श्रेष्ठले भन्नुभयो,‘ पानी आइहाल्यो भने पनि पिउन डराउनुपर्ने भएपछि बरु नजिकैको सार्वजनिक धारामा पुगेर खानेपानी ल्याउने गरेको छु, त्यहाँ पानीको पालो कुर्दाकुर्दै हैरान हुनुपर्छ ।’
सार्वजनिक धारामा समेत यतिवेला मूल सुकेर पानी सानो भएकाले एक गाग्री पानीका लागि धेरै समय कुर्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । गोरखाबजार क्षेत्रमा खानेपानीको समस्याले दुःख नपाउने सायदै कमै होलान् । खानेपानीको चरम अभाव भएपछि गएको बिहीबार रानीवन क्षेत्रका स्थानीय त रित्तो गाग्री लिएर पानी माग्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पनि पुगे ।
बजार क्षेत्रमा खानेपानी वितरण गर्दै आएको दरौँदी लिफ्टिङ खानेपानी आयोजनाले धारामा पानी नदिएको भन्दै बिरोध स्वरुप प्रसासनमा पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहालको ध्यानाकर्षण गराएका छन् । दरौँदी लिफ्टिङ खानेपानी आयोजनाको चरम लापरबाहीका कारण उपभोक्ताले खानेपानीमा दुःख भोग्नु परेको उनीहरुको भनाई छ ।
दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण भएपछि बजार क्षेत्रमा खानेपानीको समस्या अन्त्य हुन्छ भनेर दावी नगरिएको पनि होइन । करिब ४४ करोड भन्दाबढीको लागतमा आयोजना बनेपनि सदरमुकामवासीलाई पानीको अभाव अहिलेपनि उस्तै छ । बजार क्षेत्र वरपर नै खोलखोले, चाइनिज धारा, बोसेपानी धारा, रङ्गशाला लगायतका स्थानमा झण्डै आधा दर्जन भन्दाबढी मूलको पानी आउने सार्वजनिक धारा पनि छन् ।
ती सवै धारामा विहानदेखि राती अवेरसम्म पानी भर्नेको घुइँचो हुने गरेको छ । दिनमा मात्र होइन, रातको समयमा पनि सदरमुकामवासी खानेपानीका लागि घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यताले हैरान छन् । सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएका आयोजनाले नियमित पानी उपलब्ध नगराउने र सार्वजनिकस्थानमा रहेका धारामा समेत पानीको मुहान सुक्न थालेपछि उपभोक्ता समस्यामा पर्न थालेको अर्का स्थानीय रामकृष्ण खत्रीले बताउनुभयो ।
सदरमुकाममा दरौँदी लिफ्टिङ, पृथ्वीनारायण साना शहरी खानेपानी आयोजना, थाकल डाँडा, पोखरीथोकलगायत गरी विभिन्न छ वटाभन्दा बढी आयोजनाले बजार क्षेत्रमा उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ ।
