विपद उद्धारसम्बन्धी अभ्यासकै क्रममा सशस्त्र प्रहरी जवानको डुबेर मृत्यु

बझाङ, २८ जेठ । बझाङमा एक सशस्त्र प्रहरीका जवानको विपद उद्धारसम्बन्धी अभ्यास गर्दा डुबेर मृत्यु भएको छ।

केदारस्युँ गाउँपालिका वडा नम्बर ७ घर भएका जवान नरेन्द्र सिंह धामीको अभ्यासकाे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताउनुभयाे ।

बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्ने कृत्रिम अभ्यास (सिमुलेसन) का क्रममा उनी डुबेका थिए।

सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेसनका क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शाहले बताउनुभयाे ।

डुबेर बेहोस अवस्थामा फेला परेका उनीलाई उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल बझाङमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। सशस्त्र प्रहरीका प्रवक्ता कुमार न्यौपानेका अनुसार धामी विपद् व्यवस्थापनमा अनुभवी उद्धारकर्ता भएकाे बताउनुभयाे ।