नौ महिनामा भित्रियाे आठ लाख बढी विदेशी पर्यटक
काठमाडौँ, १६ असोज । सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार तीन सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले पर्यटक आगमन बढेको छ । अगष्ट महिनाको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन्भने चीनबाट आउने बढेका छन् । अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेकाे उहाँले बताउनुभयो ।
सेप्टेम्बरमा भारतबाट २२ हजार नौ सय ८४ र अगष्टमा २५ हजार आठ सय ३२ पर्यटक नेपाल आएका छन् । चीनबाट सेप्टेम्बरमा आठ हजार ४२ र अगष्टमा छ हजार छ सय १४ पर्यटक आएका निर्देशक लामिछानेले जानकारी दिनुभयो ।
मनसुनका कारण भारतीय पर्यटक घटेका हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाबाट अगष्टमा पाँच हजार छ र सेप्टेम्बरमा १० हजार ८४ पर्यटक नेपाल भित्रिएका छन् । श्रीलङ्काबाट सेप्टेम्बरमा चार हजार नौ सय १५ र अगष्टमा चार हजार आठ सय ५१ पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार गत अगष्टमा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका थिए । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका बोर्डले जनाएको छ ।