पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि पानीको फोहोरा र अश्रुग्याँस प्रहार

काठमाडाैं, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र समर्थकले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेपछि तनावग्रस्त बनेकाे छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो ।

सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको हाे ।

जिल्ला प्रशासन कार्यालयले सहिदचोकको पूर्वपट्टि वाईचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोक र ग्रैहापाटनको पालिखेचोकदेखि नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा आदि विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो ।

अर्को आदेश जारी नभएसम्म निषेधज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा जारी आदेशमा उल्लेख छ ।

सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेकोले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।