रुपन्देहीमा बाहिर सहकारी पीडितको प्रदर्शन, भित्र छविको बयान
रुपन्देही, ६ कात्तिक । सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको बयान मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा हुँदै गर्दा बाहिर सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् ।
रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान सुरु गरिएकाे हो ।
गोर्खा मिडिया नेटर्वकका तत्कालीन उपाध्यक्ष छविलाल जाेशीलाई प्रहरीले हिजो पोखराबाट जहाजमा भैरहवा ल्याएको थियो । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिइरहेका छन् ।
वचतकर्ताको निक्षेप फिर्ता र दोषीलाई कडा कारवाहीको माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय बाहिर प्रदर्शन गरिएको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बताए ।
सुप्रिमका १ हजार ८३१ बचतकर्ताले सहकारीका पूर्वअध्यक्ष राई, वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ सहितका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूले एक अर्ब बढी रकम अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । ती उजुरीहरूको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।