सिस्नेरीको पहिरोमा ज्यान गुमाएका खेलाडीका परिवारद्वारा एन्फा कम्प्लेक्समा धर्ना

काठमाडौं, ६ मङ्सिर । सिस्नेरीको पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका बालकहरूको परिवार तथा आफन्तजनले एन्फा कम्प्लेक्समा धर्ना दिएका छन् ।

पहिरोमा पुरिएर ६ जना बालकहरूकोमृत्यु भएको घटनामा सरकारले छानबिन समिति बनाउनुपर्ने परिवार तथा आफन्तकाे माग छ ।

एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थिति वत्सला माविमा ४० जना बालकहरूलाई फुटबल प्रशिक्षणका लागि क्याम्पमा राखेको थियो ।

घटनामा हेटौँडाका अनुपम घलान, बाराको निजगढका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य, सर्लाहीका आदित्य बलमपाकी र साइमन योन्जनको मृत्यु भएको थियो ।

मृतकका परिवारले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै संघर्ष गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्री र विपक्षी दलका नेतालाई समेत ज्ञापन पत्र दिएका थिए । तर, हालसम्म पनि सुनुवाइ नभएको भन्दै उनीहरुले आज एन्फा कम्प्लेक्समा धर्ना दिएका हुन् ।

एन्फाले पीडित परिवारलाई ८ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । तर, पीडितहरूले आर्थिक सहायताभन्दा पनि घटनाको यथार्थ बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने बताइरहेका छन् ।